शुक्रबारदेखि सुरु भएको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीको दोस्रो दिन सम्पन्न भएको छ । दुई दिनमा २० हजार भन्दा बढीले अवलोकन गरेको प्रदर्शनीमा ४० लाख बराबरको कारोबार भएको नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) ले जनाएको छ । साथै हिजो र आज गरेर प्रदर्शनीमा करिब ३ करोड बराबरको मेसिनरी बुकिङ भएको नामियाले जानकारी दिएको छ ।
प्रदर्शनीको दोस्रो दिन आज 'दिगो कृषि यान्त्रीकरणको लागि स्वदेशमा कृषि औजार उत्पादन प्रवर्धन' विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा सरोकारवालाहरूले नेपालको कृषि यान्त्रिकरणको विकासका लागि सरकारले लचिलो नीति बनाउनुपर्ने विषयमा जोड दिएका छन् ।
दिगो कृषि यान्त्रीकरणको लागि स्वदेशमा कृषि औजार उत्पादन प्रवर्धन गर्न सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रमको सुरुवात गर्दै कृषी विभागकी वरिष्ठ कृषि इन्जिनियर संगिता श्रेष्ठले तीनै तहको सरकार र नीजी क्षेत्रले सहकार्य गर्न आवश्यक रहेको उनले बताएकी थिइन् ।
साना तथा ठूला दुवै प्रकारका उद्योगलाई सरकारले सहयोग गर्दै आएपनि अहिले यो उद्योग पलायन हुने अवस्थामा भएको भन्दै उनले यसलाई संरक्षण गर्नु आवश्यक रहेको बताइन् । यसको लागि यस्ता कार्यक्रमहरूले सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरेकी थिइन् । कार्यक्रममा तीनओटा प्रस्तुति रहेको थियो ।