
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स जारी भएको खुलासा लोकान्तरले गरेपछि अख्तियारले छानबिन शुरू गरेको हो ।
छानबिन अधिकृत नै नियुक्त गरेर अवैध लाइसेन्स प्रकरणको छानबिन शुरू गरिएको अख्तियार उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । स्रोतका अनुसार छानबिन प्रकिया अगाडि बढिसकेको छ ।
'अवैध लाइसेन्स प्रकरणको छानबिन शुरू भएको छ,' अख्तियार उच्च स्रोतले लोकान्तरसँग भन्यो, 'यसका लागि छानबिन अधिकृत नै तोकेर प्रक्रिया शुरू भएको छ ।' यसबारे अख्तियारमा उजुरीसमेत परेको थियो ।