
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा रहेका चार दलहरूबिच सिट बाँडफाँटमा सहमति भएको छ । शनिबार राति अबेरसम्म बसेको बैठकले सिट सङ्ख्याको टुङ्गो लगाएको हो । यद्यपि यसको अन्तिम निर्णय भने आइतबार बिहान बस्ने बैठकले गर्ने बताइएको छ ।
बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ का अनुसार निर्वाचन हुन गइरहेका १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले छ, नेकपा (एकीकृत समाजावादी) ले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट लिने निर्णय भएको छ ।
“करिब करिब यसै वरिपरि सहमति भएको छ,” पुनले भने, “यसबारे एकीकृत समाजवादीका साथीहरूले एक पटक फेरि बस्छौँ भन्नुभएको छ । आइतबार बिहान बस्ने बैठकले अन्तिम रूप दिने छ ।” गोरखापत्रमा खबर छ ।