
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको नाम टुंगो लगाएको छ ।
आइतवार बसेको सत्ता गठबन्धनको बैठकले माओवादीले ६ सिट लिने गरी सहमति गरेको थियो ।
गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले उम्मेदवारको टुंगो लगाएको हो ।
माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारी र गण्डकीबाट मनरूपा शर्मा उम्मेदवार बन्नेछन् ।
लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्द सिफारिश भएका छन् । सुवेदी २०६४ सालको संविधानसभा चुनावमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई काठमाडौं २ बाट पराजित गरेर चर्चामा आएका थिए ।
त्यसयता उनी लगातार चुनाव हार्दै आएका छन् । २०७४ सालमा उनी काठमाडौं ६ बाट वामपन्थी गठबन्धनको उम्मेदवार बने पनि पराजित भएका थिए ।
सुदुरपश्चिमबाट सिफारिश भएकी चन्द २०६४ सालको संविधानसभा निर्वाचनमा बैतडीबाट निर्वाचित भएकी थिइन् । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि भोलि सोमवार उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ ।