
राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसको उम्मेदवार छनोटप्रति महामन्त्री गगन थापाले फरक मत राखेका छन् । उम्मेदवार छनोटप्रति असन्तुष्ट गगनले लिखित रूपमै फरक मत राखेका हुन् ।
उनले राष्ट्रिय सभामा विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरिए पनि उम्मेदवार छनोटमा त्यसो हुन नसकेको भन्दै असहमति जनाएका हुन् । 'हाम्रो संविधानले राष्ट्रियसभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेका जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ,' उनले असहमतिमा भनेका छन्, 'यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पुस १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रियसभाको उम्मेदवार चयन सम्बन्धमा हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिनेलगायतको मापदण्ड तय गरेको थियो । तर संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन ।'
उम्मेदवार छनोटको निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको उनको भनाइ छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउने उनले बताएका छन् ।
निर्णयप्रति असहमति रहे पनि बहुमतले गरेको निर्णय कार्यान्वयनमा आफ्नो पूर्ण संलग्नता रहने पनि उनले स्पष्ट पारेका छन् ।