
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार उम्मेदवारहरुको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । त्यसका लागि सत्ता गठबन्धनले भागबण्डाको आधारमा उम्मेदवार उठाएका छन् भने एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दिन लागेका छन् ।
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि १० वटै सिटको लागि उम्मेदवार तय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० सिटको लागि उम्मेदवार तय गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बाग्मतीमा जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ भने गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार उम्मेदवार बन्ने भएका छन् ।
लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने भएको हो ।
यसैगरी गठबन्धनबाटै माओवादी केन्द्रले कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द उम्मेदवार टुंग्याएको छ भने नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुंग्याएपनि औपचारिक रुपमा नाम सार्वजनिक गर्न बाँकी रहेको एक नेताले बताए ।
उम्मेदवार चयनप्रति महामन्त्री गगन थापाले लिखित फरक मत राखेका छन् ।
यस्तै जसपाले पूजा चौधरीलाई मधेसमा उम्मेदवार बनाएको छ । गठबन्धनबाट चार दलबीच १९ सिटमा भागबण्डा भएको हो ।
००००
एमालेले कोशीमा महिलाबाट सुनसरीकी रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाएको छ ।
यस्तै मधेशबाट महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बन्दा बागमतीबाट महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसंख्यकरअपंगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका धु्रबराज विश्वकर्मा उम्मेदवार बनेका छन् ।
यस्तै गण्डकीमा महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यक तथा अपांगता तर्फबाट मुस्ताङका हेमचन्द्र शेरचन उम्मेदवार बनेका छन् ।
लुम्बिनीमा महिला तर्फ दाङकी तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादु घर्ती उम्मेदवार हुँदा कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।
यस्तै सुदूरपश्चिममा महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशी उम्मेदवार बनेका छन् ।
००००
यसैगरी राप्रपाले पनि राष्ट्रिय सभाको लागि सातवटै प्रदेशका उम्मेदवारको टुंगो लगाएको छ ।
राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेल, बागमतीमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको हो ।
गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ । यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि उम्मेदवार टुंगो लगाएको राप्रपाले जनाएको छ । राप्रपाले सत्ता गठबन्धनसँग तालमेल गर्ने
मानसिकता बनाएको थियो । तर सत्ता गठबन्धनले इच्छा नदेखाएपछि राप्रपाले छुट्टै उम्मेदवार उठाएको हो ।
सत्ता गठबन्धनको मतभार धेरै रहेकाले गठबन्धनले १९ सिटमै जित हाँसिल गर्ने पक्कापक्की देखिएको छ ।
००००
निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको लागि सातै प्रदेशका मतदाताको संख्या र मतभार सार्वजनिक गरेको छ ।
प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने निर्वाचनमा आयोगले आइतवार सातवटै प्रदेशका मतदाता र मतभार सार्वजनिक गरेका हो ।
राष्ट्रिय सभा सदस्यको लागि प्रदेश सभा सदस्यको प्रतिसांसद मतभार ५३, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका प्रतिमतदाता मतभार १९ रहेको छ ।
००००
त्रिभुवन विश्वविद्यालयले रिक्त उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।
००००
सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भएको सहमतिअनुसार अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गरिनेछ ।
००००
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त भएका छन् ।
मुख्यमन्त्री केदार कार्कीको सिफारिशमा प्रदेशप्रमुख परशुराम खापुङले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
००००
काठमाडौं जिल्ला अदालतले टुटलका संस्थापक शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो ।
००००
लागुऔषध गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धर रहेका छन् ।
००००
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।
शनिवार फ्लाई दुबईबाट आएकी एकजना यात्रुको साथमा उक्त परिमाणको सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
००००
नेपाल स्टक एक्सचेञ्ज परिसूचक २६ दशमलव ३६ अङ्कले घटेको छ ।
नेप्से परिसूचक आइतवार १ दशमलव २८ प्रतिशतले घटेर २ हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो ।