२६ असार २०८३, शुक्रबार
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभामा कांग्रेसका १० उम्मेदवार, को कुन पक्षका ?

पुस २३, २०८०
काठमाडौं
राष्ट्रिय सभामा कांग्रेसका १० उम्मेदवार, को कुन पक्षका ?

नेपाली कांग्रेसले निकै सकसपछि राष्ट्रिय सभामा आफ्नो भागबन्डामा परेका १० उम्मेदवार टुंग्याएको छ ।

आइतबार दिनभर र रातिसम्मको छलफलपछि सोमबार बिहान कांग्रेसले सातटवै प्रदेशका लागि १० जना उम्मेदवार बनाएको हो ।

१० जनामध्ये ७ संस्थापनका र ३ जना शेखर–गगन पक्षका हुन् । शेखर–गगन पक्षले ४ जना उम्मेदवार पाउनैपर्ने दाबी गरे पनि संस्थापनले ३ वटाभन्दा बढी नदिएको हो ।

कांग्रेसले कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेश प्रदेशमा आनन्दप्रसाद ढुंगाना, बागमती प्रदेशमा जीतजंग बस्नेतलाई उम्मेदवार बनाएको छ । यी तीनैजना संस्थापन निकटका हुन् ।

पटक-पटक अवसर पाएकालाई उम्मेदवार नबनाउने केन्द्रीय समितिको निर्णय रहे पनि सिटौला र ढुंगाना अवसर पाइरहेका नेता हुन् ।

सिटौलाको विषयमा नेताहरूले फरक मत नराखे पनि अनुशासन समितिका अध्यक्ष ढुंगानाका विषयमा भने बलहादुर केसीदेखि अर्जुननरसिंह केसीसम्मले फरक मत राखेका छन् ।

सिटौलालाई राष्ट्रिय सभाको अध्यक्षसम्म बनाउने गरी कांग्रेसले उम्मेदवार बनाएको हो । प्रधानमन्त्री प्रचण्डदेखि शेखर कोइरालासँग समेत सिटौलाको नाममा सहमति जुटाउने प्रयास गरिएको थियो ।

पार्टीका सिनियर नेता र पदाधिकारीले मात्रै उम्मेदवार टुंग्याएको, समावेशी बनाउन नचाहेको, योग्यता र क्षमता नहेरेको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि लिखित फरक मत राखेका छन् ।

दुई अपांगता/अल्पसंख्यक, दुई महिला क्लस्टरबाट उम्मेदवार बनाए पनि कांग्रेसले ६ जनालाई अन्य क्लस्टरबाट हाल्नै आफू अनुकूलका उम्मेदवार बनाएको हो ।

आफूअनुकूल उम्मेदवार बनाउनै कांग्रेस संस्थापनले गठबन्धनमा मिलाएर क्लस्टर रोजेको थियो ।

बागमतीकी विष्णुदेवी पुडासैनी पनि संस्थापननिकटकी हुन् ।

गण्डकी प्रदेशमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनी प्रदेशकी विष्णुकुमारी सापकोटा भने शेखर–गगन पक्षका हुन् ।

कर्णाली प्रदेशमा कृष्णबहादुर रोकाया, सुदूरपश्चिम प्रदेशमा बलदेव बोहोरा र नारायणदत्त भट्ट उम्मेदवार बनेका छन् । यी सबै संस्थापन निकटका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्