
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमाले र सत्ता गठबन्धनका गरी चार जनाले मनोनयन गर्दा गराएका हुन् ।
मनोनयन दर्ता गराउनेमा जनयुद्धका घाइतेदेखि जनताबाट पटकपटक पराजित भएकाहरू छन् । प्रतिनिधि सभाका दुई निर्वाचनमा लगातार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराएका छन् ।
झापा–३ मा पछिल्ला दुई निर्वाचनमा लिङ्देनसँग पराजय व्यहोरेका सिटौला सहजै माथिल्लो सदनमा पुग्नेमा ढुक्क छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा साढे १० बजेको समय मागेका थिए । तर, उनी निकटकै केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुजीले ‘शून्य’ समय बनाउँदा राम्रो हुँदैन भनेपछि उनले १० बजेर २१ मिनेटमा मनोनयन दर्ता गराएका थिए । ‘साढे १० को समयमा मनोनयन दर्ता गराउँदा शनिको दशा छ भनेपछि उहाँले अगाडि नै दर्ता गराउनुभएको हो,’ कांग्रेसका एक नेताले भने, ‘गठबन्धन एक ढिक्का भएन भने राष्ट्रियसभा पुग्ने सम्भावना कमजोर हुँदैन भन्न सकिँदैन ।’ कांग्रेसभित्र कोशीमा भएको विद्रोहको डर अहिले पनि रहेको नेताहरू बताउँछन् ।
यस्तै सत्ता गठबन्धनबाटै माओवादी केन्द्रकी चम्पला कार्कीले पनि मनोनयन दर्ता गराएकी छिन् । उनले सिटौला पछाडि मनोनयन दर्ता गराएकी हुन् । उनले गठबन्धनको जीत पक्का रहेको बताइन् ।
नेकपा एमालेबाट साबिक मूलखर्क गाविस वडा नम्बर ६ मा महिला सदस्यमा निर्वाचित कार्की २६ बर्षपछि राष्ट्रिय सभाको उम्मेदवार बनेकी हुन् ।
उनी २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएकी थिइन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं ओखलढुंगा जिल्ला इन्चार्जसमेत रहेकी कार्की एमालेकी रुक्मिणि कोइरालासँग प्रतिस्पर्धा गर्दै छिन् । प्रदेशमा गठबन्धनको मत भार एमालेभन्दा फराकिलो अन्तरले बढी छ ।
जनयुद्धमा छापामार बनेर युद्ध लडेकी घाइते योद्धाका रूपमा परिचित छिन् कार्की । उनले जनयुद्धमा आफ्नो दाहिने हात गुमाएकी छन् । २०५८ सालमा रामेछापको धोवीचौकी मोर्चामा उनी घाइते भएकी थिइन् । त्यही लडाइमा उनले हात पनि गुमाएकी हुन् ।