
नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रवादीहरूले व्यवस्थामाथि हमला गरिरहेका बताएका छन् ।
पार्टीद्वारा सञ्चालित ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ अन्तर्गत बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको समीक्षा बैठक तथा अभियान समापन कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् ।
परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरंकुशतावादीहरूको चुनौती स्वीकार गर्न आफूहरू तयार रहेको उनको भनाइ छ । जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफ्नो दल प्रतिबद्ध रहेको उनले बताए ।
उनले आफूहरूले कोसिस गर्दागर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्ने उल्लेख गरे । ‘गणतन्त्रसहित उपलब्धिहरूमाथि निरंकुशतावादीहरूका तर्फबाट प्रश्न उठाउन थालिएको छ’, पुनले भने, ‘यो व्यवस्थामाथिको मात्र प्रश्न होइन, हामी माओवादीहरूमाथिको पनि प्रश्न हो ।’
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले जनताको अवस्था बदल्न निरन्तर प्रयास गर्दै समाजवादी विकल्प तयार पार्नु आफूहरूको राजनीतिक ध्येय भएको बताए । पुनले जनता र कार्यकर्ता तहबाट उठेका प्रश्न र असन्तुष्टिको सम्मान गर्दै सबै प्रश्नको जवाफ आफूहरूले दिने पनि बताए ।
उनले आसन्न विधान सम्मेलनबाट कार्यकर्ता जनताबाट र नेता कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने प्रणाली विकास गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए ।
‘हाम्रो पार्टी कार्यकर्तासँग जनता भएको पार्टी हो । अब हामी जनताको मन जितेर कार्यकर्ता र कार्यकर्ताको मन जितेर नेता हुने प्रणाली संस्थागत गर्न खोज्दैछौं’, पुनले भने, ‘यसले नेतृत्वमा युवाहरू आउनुपर्ने भन्ने भन्ने आवाजको पनि सम्बोधन गर्नेछ ।’