
काठमाडौं, १७ असोज — भौतिकशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार रेनर वीस, ब्यारी सी ब्यारिश र किप एस थोर्नले पाउने भएका छन् । 
लेजर इन्टरफेरोमिटर ग्य्राभिटेसनल वेभ अब्जर्भेटरी अर्थात् लिगो बनाएको अनि गुरुत्वाकर्षणीय तरंगहरू पत्ता लगाएकाले उनीहरूले पुरस्कार दिन लागिएको नोबेल कमिटीले बताएको छ ।
लिगो एक साझेदारी परियोजना हो जसमा २० देशका एक हजारभन्दा बढी अनुसन्धानकर्ताहरूले भाग लिएका छन् ।
विगत ५० वर्षदेखिको भिजनलाई साकार गर्नका लागि तीन नोबेल विजेताहरूले प्रयास गरेको र लिगोको सफलताका लागि सबैजना उत्तिकै महत्त्वपूर्ण रहेको कमिटीले बतायो ।
ग्य्राभिटेसनल वेभ्स अर्थात् गुरुत्वाकर्षणीय तरंगका बारेमा पत्ता लगाएर अदृश्य संसारको ढोका खोलेको अनि तरंगलाई नियन्त्रण गरेर तिनको सन्देश व्याख्या गर्ने अवसर जुराएको पनि कमिटीले उल्लेख गरेको छ ।
वीस जर्मनीमा जन्मेका वैज्ञानिक हुन् । उनी अमेरिकाको एमआईटीमा भौतिकशास्त्रका प्राध्यापक हुन् ।
ब्यारिश अमेरिकाको ओमाहामा जन्मेका हुन् । उनी क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक छन् ।
किप चाहिँ अमेरिकाको लोगनमा जन्मेका हुन् र उनी पनि क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक छन् ।
एजेन्सी