
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाल वादोरियो कराँते डो संघद्वारा आयोजित ‘चौथो राष्ट्रिय वादोरियो खुला कराँते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेकाले खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको उनको दाबी छ ।
कार्यक्रममा प्रधानमन्त्रीले देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटक-पटक पुरस्कृत र सम्मानित गर्दै आएको बताए । खेल क्षेत्रका पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिएको भन्दै उनले खेलाडीहरूका निम्ति यो सुखद् कुरा भएको बताए ।
‘मेरो तेस्रो कार्यकालमा खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको कुरा तपाईहरूले महसुस गर्नुभएकै होला । देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटक-पटक पुरस्कृत र सम्मानित गर्दै आएका छौं’, प्रधानमन्त्रीले भने ।
आजको युगमा खेलकुदको बहुआयमिक महत्व भएकाले त्यसका निम्ति सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उनले बताए ।