
पृथ्वी जयन्तीको अवसर पारेर शुक्रवार बुटवलमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरिएको छ । बुटवल-भैरहवा सडक खण्डको कालिकानगरमा ३०२ औं पृथ्वी जयन्तीको अवसर पारेर शालिक अनावरण गरिएको हो ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० राजमार्ग चौराहदेखि दक्षिणतर्फ सडकको हरियाली क्षेत्रमा शालिक निर्माण गरिएको छ।
गत वर्ष पुस २७ गते नै शिलान्यास गरिएको शालिकको शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का स्थानीय नेता रुपसिंह थापा, निलम अधिकारी लगायतले अनावरण गरेका हुन् ।
नयाँ पुस्ताले इतिहासबारे जानकारी लिन सकून् भन्ने उद्देश्यले सडक किनारमा शालिक निर्माण गरिएको थापाले जानकारी दिए । राज्यको नेतृत्वमा पुगेकाहरूले इतिहास मेट्दै जाँदा नयाँ पुस्ता इतिहास जान्नबाट विमुख हुने गरेको उनको भनाइ छ ।
१७ लाख रुपैयाँको लागतमा मूर्तिकार राजु तुलाधरले उक्त शालिक निर्माण गरेका हुन् । शालिकको उचाइ ७ फिट छ ।
शालिक निर्माणको लागि बुटवल उपमहानगरपालिकाले ५ लाख र वडा नम्बर १० ले ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएका थिए ।
स्थानीय पृथ्वीनारायण मार्गका बासिन्दा र सहयोग दाताहरूबाट संकलन गरिएको थियो ।
सो अवसरमा बोल्दै शालिक निर्माण समितिका अध्यक्षसमेत रहेका थापाले पृथ्वीनारायण शाहको नेपाल एकीकरणकै कारण नेपाल देशको रुपमा स्थापित भएको बताए ।
वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीको कोखबाट जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उनको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन थालिएको हो ।
विसं. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण शाह राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोटमा विजय हासिल गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यकामा विजय हासिल गरे । उपत्यकामा विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदन्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
उनका दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेका छन् । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।