
क्यानबेरा–अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्यस्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्सले शुक्रवार बिहान हुथी विद्रोहीमाथि अमेरिका र बेलायतले गरेको आक्रमणलाई अष्ट्रेलियाले समर्थन गरेको बताएका छन् ।
मार्लेसले पत्रकार सम्मेलनमा पत्रकारहरूलाई जनाकारी गराएअनुसार हुथिहरूका विषयमा अष्ट्रेलिया १४ देशहरूको समूहको एक हिस्सा थियो जसले हुथी विद्रोहीहरूलाई लाल सागरमा सामुद्रिक गतिविधिमा आक्रमण गरिरह्यो भने त्यसको परिणाम भोग्नुपर्नेछ भनी चेतावनी दिदै विज्ञप्ति जारी गरेको थियो ।
‘उनीहरूले सामुद्रिक र नौसैनिक सम्पत्तिहरूमा आक्रमण जारी राखेका छन्। परिणामस्वरूप त्यसका विरुद्ध शुक्रवार आक्रमण भएको छ,’ उनले भने ।
यद्यपि अष्ट्रेलियाले डिसेम्बरमा अन्तरराष्ट्रिय ढुवानी लेनहरू सुरक्षित गर्न मद्दत गर्न लाल सागरमा रोयल अष्ट्रेलियन नौसेना युद्धपोत पठाउन संयुक्त राज्य अमेरिकाको अनुरोधलाई अस्वीकार गरेको थियो ।
साथै सरकारले बहराइनमा रहेको ३९ राष्ट्रको कम्बाइन्ड मेरिटाइम फोर्स कमाण्डमा अष्ट्रेलियाली रक्षा बलका अतिरिक्त अधिकारीहरू तैनाथ गर्ने प्रतिबद्धता जनाएको छ।