३० असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

राष्ट्रपतिले शीतलनिवासमा किन बोलाए शीर्ष नेता ?

पुस २८, २०८०
काठमाडौं
राष्ट्रपतिले शीतलनिवासमा किन बोलाए शीर्ष नेता ?

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दा बल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रवार शीतलनिवासमा बोलाएर मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
००००
दाङमा भएको बस दुर्घटना ज्यान गुमाएका ८ जनाको सनाखत भएको छ । मृतक १२ जनामध्ये  २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको थियो ।
००००
नेकपा माओवादी केन्द्रको विधान मस्यौदा समितिले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विधानको मस्यौदासम्बन्धी प्रतिवेदन पेस गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उपाध्यक्ष एवं समितिका संयोजक पम्फा भुसालसहितको टोलीले उक्त मस्यौदा पेस गरेको हो ।
००००
विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको सङ्घीय राजधानी काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यका रुपमा घोषणा गरेको छ ।

ट्रिप एडभाइजरले सात वटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस(२०२४’ घोषणा गर्दै काठमाडौँलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य–२०२४ मा राखेको हो ।
००००
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३ वर्षीय बालकमा कलेजोको सफल प्रत्यारोपण भएको छ । पर्साको वीरगन्जका ३ वर्षीय बालकमा शुक्रबार कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको हो ।
००००
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशनसम्बन्धी कार्यतालिका पारित गरेको छ । 

पार्टीका शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषामा आयोजना हुने पार्टी महाधिवेशनको कार्यतालिका पारित गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
००००
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा पार्टीका संरक्षक रेशमलाल चौधरी सर्वसम्मत भएका छन् ।
निर्वाचन कार्यकतालिका अन्तर्गत निर्धारित समयसम्म उनको मात्रै उम्मेदवारी परेपछि चौधरी सर्वसम्मत भएका हुन् ।
००००
शुक्रबार ३०२ औँ पृथ्वी जयन्ती मनाइयो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले राजधानीमा चियापनको आयोजना गर्यो भने कार्यक्रममा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको पनि सहभागिता रहेको थियो । 

यस्तै राप्रपा नेपालले पनि ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा चियापान कार्यक्रम गरेको छ । 
००००
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण सम्मान व्यक्त गरेका छन् । पृथ्वीजयन्तीका अवसरमा उनले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् ।
००००
बाढी र पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ ।
अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौंमा पथान्तरण गरिएको छ ।
००००
प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरूको विदेश भ्रमणमा रोक लगाइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले सल्लाहकारदेखि स्वकीय सचिवहरूलाई विदेश भ्रमण नगराउन भन्दै सिंहदरबारका सबै मन्त्रालय र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई परिपत्र गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्