हिमालयन बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले बैंक तथा यसका सहायक कम्पनीहरू सहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरू गरेको जानकारी गराएका थिए ।
यस्तै, तत्कालीन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकीकृत कारोबार शुरू भएको उनले जानकारी दिए ।
साधारण सभाले बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक पदमा प्रचण्डबहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिलबहादुर थापा र प्रताप जंग पाण्डे निर्विरोध निर्वाचित भएको तथा सर्वसाधारण शेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए ।
त्यसैगरी बैंकको आजै बसेको सञ्चालक समितिको बैठकले नवनियुक्त सञ्चालक मध्ये प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत रूपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ ।
नवनिर्वाचित संचालकहरुलाई बधाई दिँदै बैंकको अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधालाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने बताएका छन् ।