काठमाडौं, १८ असोज– नेकपा एमालेसँग चुनावी तालमेलसहित पार्टी एकीकरण गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कदमप्रति माओवादीकै कतिपय नेताले कडा शब्दमा विरोध गरेका छन् । विरोध गर्नेमा माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँती पनि छन् ।
एमालेसँग चुनावी तालमेल गरेर पार्टी एकीकरण गर्ने भनेर प्रचण्डले आत्मसमर्पण गरेको किराँतीको आरोप छ । बुधवार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै किराँतीले माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर प्रचण्ड समूहले एमालेमा विलय हुने घोषणा गरेका बताएका छन् ।
नेता किराँतीले माओवादी केन्द्रलाई पुनर्गठन गर्न समेत आह्वान गरेका छन् । ‘माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु,’ किराँतीले फेसबुकबाट भनेका छन् ।
यस्तो छ माओवादी केन्द्रका नेता किराँतीले फेसबुकमार्फत गरेको आह्वान;माओवादी क्रान्तिकारीहरु र पहिचान पक्षधर क्रान्तिकारी कमरेडहरुमा गम्भिर आह्वान– माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।–पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।–सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।–भेला आयोजक समिति गठन अघि एक पटक श्री प्र्रचण्डसँग वार्ता गरिनेछ ।– चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।गोपाल किराँतीनेकपा माओवादी केन्द्र, सचिवालय सदस्य
हालः आम्चोक गाउँपालिका, भोजपुर