
विभिन्न जातजाति र समुदायमा फरक–फरक तरिकाले मनाइने माघे संक्रान्ति कालिकोटमा भने छोरीलाई कोसेली दिएर मनाइने गरेको छ ।
माघी तिहार अवसरमा कर्णालीमा चेलीलाई हरियो पोकामा कोसेली दिएर माघी पर्व मनाइने गरिन्छ ।
चेलीलाई माघी पर्वका अवसरमा दिने हरियो पोकामा कोसेली दिने चलन रहेको छ । यो परापूर्वकालदेखि चल्दै आएको र १५ दिनसम्म छोरीलाई दिने गरिन्छ । विभिन्न परिकारसहितको कोसेली हरियो पातमा छोरीचेलीलाई दिने चलन परापूर्वकालदेखि चलिआएको छ ।
धार्मिक मान्यताअनुसार माघ महिनालाई पवित्र महिनाका रुपमा लिने गरिएको नरहरिनाथ उत्थान केन्द्रका सल्लाहकार किशोरकुमार रावलले बताए ।
‘कर्णालीमा अन्य ठाउँको भन्दा भिन्न तरिकाले माघी मनाउने चलन छ’, उनले भने, ‘वैदिक मान्यताअनुसार कर्णाली तथा सुदूरपश्चिममा माघ महिनालाई पवित्र महिनाका रुपमा लिएर चेलीलाई कोसेली दिने चलन रहेको छ ।’
धार्मिक मान्यताअनुसार माघ महिनामा कपाल काट्न, खौरिन नहुने, बलि दिन नहुने र यस अवसरमा कागको पूजा गर्ने चलन रहेको पञ्चदेवल मावि खाँडाचक्र नगरपालिका–२ मान्मका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए ।
‘टाढाटाढा रहेका दिदीबहिनीलाई हरियो पातमा कोसेली पुर्याउने चलन छ’, उनले भने, ‘कर्णालीमा माघ पवित्र महिना भएका कारणले मारकाट पनि गरिँदैन ।’
टाढाटाढा रहेका छोरीलाई माइती पक्षले माघ महिनाभर नै कोसेली पुर्याउने चलन कर्णाली क्षेत्रमा रहेको छ ।