![माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारुकामा १७ हल गोरु जुधाइ [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Goru_Judhai_4Bbd0ZZ1MQ.jpg)
नुवाकोटको तारुकामा यस वर्ष १७ हल गोरु जुधाइएको छ ।
तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यस वर्ष पनि माघे संक्रान्ति मेलाको अवसरमा गोरु जुधाइएको हो ।
तत्कालीन बझांगी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको बूढापाका बताउँछन् ।

त्यसलाई हरेक वर्ष माघे संक्रान्तिको दिन निरन्तरता दिँदै आएकाले तारुकाको गोरु जुधाइको इतिहास झण्डै दुई सय वर्ष अगाडिदेखिलाई संरक्षण गरिएको हो । किसानले स्वतःस्फूर्त रूपमा जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर व्यवस्थित भने विसं २०६२ देखि समितिमार्फत नेतृत्व लिइएको हो ।
गोरु जुधाउन आधुनिकता भित्रन नदिई मौलिकपन कायम राखेर परम्पराको निरन्तरता, माघेसंक्रान्तिको अवसर जुधाइने भएकाले संस्कृतिको संरक्षणमा समेत निरन्तरता दिइएको छ ।

किसानले गोरु जोत्न छाडेर ट्याक्टरको प्रयोगले गाउँमा गोरु देख्न छाडिसके । तर जुधाउनलाई भनेर तारुका (तारकेश्वर)का किसानले जुरो पलाउने स्थानीय जातका गोरु पाल्ने, त्यसलाई खुराक खुवाएर प्रतिस्पर्धा गराउने, बारीको खुला पाटोमा हजारौं दर्शकको बीचमा गोरु जुधाइको चलनलाई जोगाउँदै आइरहेको स्थानीय ९० वर्षीय झमबहादुर प्रधानले बताए ।