
३२ जना सहसचिवको सरुवा रोकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पठाइएको सहसचिवको सरुवा सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अड्किएको हो ।
मन्त्रालयले गत पुष २३ गते ३२ जना सहसचिवहरूको सरुवा हुनुपर्ने निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको थियो ।
सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतका अनुसार मधेश प्रदेश र कोशी प्रदेशसहित अन्य प्रदेशमा विभिन्न मन्त्रालयमा रिक्त सचिव पदमा सरुवाको निर्णय गरेर सूची मन्त्रिपरिषद् कार्यालयमा दर्ता गराइएको थियो ।
'संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र सचिव विनोद सिंह समेतले निर्णय गरेर ३२ जना सहसचिवहरूको सरुवाको सूची मन्त्रिपरिषद्मा पठाउनुभएको थियो,' स्रोतले लोकान्तरसँग भन्यो, 'गत मंगलवारको क्याबिनेट बैठकबाट सरुवा भई सक्नुपर्नेमा हालसम्म मन्त्रिपरिषद्मा निर्णय हुन सकेको छैन ।'
सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि संघमा बसेका सहसचिवलाई प्रदेशमा पठाउन सरुवाको निर्णय गरे पनि जान नचाहेका सहसचिवहरू मुख्य सचिवकोमाधाइरहेकाले मन्त्रिपरिषद्बाट निर्णय हुन ढिलाइ भइरहेको स्रोतले जानकारी दियो । 'प्रदेशमा अवधि पुगिसकेकालाई संघमा ल्याउने र संघमा काम गरिसकेकालाई प्रदेशमा पठाउने निर्णय सहितको प्रस्ताव पुगेको कुरा सत्य हो,' संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक सहसचिवले लोकान्तरसँग भने, 'संख्या यति नै हो भनेर अहिले भन्न मिल्दैन । त्यो आन्तरिक कुरा हो । प्रस्ताव भएको संख्यामा घटबढ भएर पनि सरुवाको निर्णय हुने गरेकाले यति नै संख्यामा सरुवा हुने भनेर भन्न सकिन्न ।'