
काठमाडौं, १८ असोज — बेलायतको लन्डनस्थित विज्ञान संग्रहालयले मंगलवारदेखि शुरु गरेको एक प्रदर्शनीले विगत पाँच हजार वर्षमा विज्ञानको क्षेत्रमा भारतवर्षले गरेको योगदानलाई उजागर गरेको छ ।

भारत तथा बेलायतका विभिन्न वैज्ञानिक संस्था र संग्रहालयमा रहेका कुराहरू अहिले प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनीको मुख्य आकर्षण बख्शाली पाण्डुलिपि रहेको छ । यसलाई अक्सफोर्डको बोदलीयन पुस्तकालयले सापटी दिएको हो । पाण्डुलिपिमा शून्यको चिह्नको सबभन्दा पुरानो अभिलेख रहेको पाइन्छ ।
बोदलीयनले गत सेप्टेम्बर महिनामा उजागर गरेअनुसार, नयाँ कार्बन डेटिङले पाण्डुलिपि पहिले सोचिएभन्दा सयौं वर्ष पुरानो रहेको प्रमाणित गरेको छ । यसअघि यो तेस्रो वा चौथो शताब्दीमा लेखिएको मानिन्थ्यो ।
अर्को उल्लेख्य वस्तु भनेको सन् १८१७ को जम्बुद्वीपको नक्सा हो । जैनहरूले बनाएको संसारको यो नक्साबाहेक नोबेल पुरस्कार विजेता सीभी रमणले बनाएको स्पेक्ट्रोमिटर पनि प्रदर्शनीमा राखिएको छ ।
द हिन्दूबाट