
‘आइसी डिजाइनर रनवे’ सिजन–१३ का लागि २४ मोडल छानिएका छन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुष गरेर २४ मोडल छानिएका हुन् ।
अडिसनमा ३ सय ५० भन्दा बढी मोडलको सहभागीता थियो । अभिनेत्री प्रियंका कार्की, सविता कार्की, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला, कर्मसियल फोटोग्राफर राजभाई सुवाल, मिस्टर नेपाल विजेता समर्पण कार्की, आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी र राजश्री थापा लगायतको निर्णायले मोडल छानेका हुन् । छानिएका मोडल आगामी चैत्र १६ (मार्च २९) गते होटल याक एण्ड यतिमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा र्याम्प प्रस्तुत हुनेछन् ।
शोमा विभिन्न फरक फरक देशका १२ जना अन्तराष्ट्रिय मोडलको पनि सहभागिता रहनेछ । फेसन शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गर्दैछ । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइसी डिजाइनर रनवे’को आगामी सिजन आफूले प्रस्तुत गर्न लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए ।
‘आइसी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो । विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन सोको अबको सिजनमा आइसी कलेजका २०२१ ब्याजका विद्यार्थी डिजाइनरहरूले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रदर्शन हुनेछ ।
‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।

