
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम सहमतिका आधारमा पूरा हुने बताएका छन् ।
असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई निष्कर्षमा पुर्याइने बताए ।
प्रधानमन्त्री दाहालले सबै पक्षसँग छलफल भइरहेको र सङ्घीय संसद्को आगामी बैठक शुरू हुने वित्तिकै सहमतिबाट शान्ति प्रत्रि।याको बाँकी काम टुङ्गो लगाइने स्पष्ट पारे ।
‘सत्य निरुपण विधेयकबारे सबैसँग छलफल गरी तयारी गरेका छौं । संसद्को उपसमितिबाट टुङ्गो लागेर समितिमा गएको छ । सदन खुल्ने बित्तिकै फुल हाउसमा लगेर प्राथमिकताका साथ टुङ्गो लगाइन्छ’, उनले भने ।
प्रधानमन्त्रीले सहमतिबाट सो विधेयकलाई टुङ्गो लगाउन आफू प्रयासरत रहेको स्पष्ट पारे ।
उनले सरकारको काम कारबाहीलाई गति दिइएको भन्दै मन्त्रीलाई समेत सोहीअनुसार काम गर्न निर्देशन दिइएको बताए ।