
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पछिल्लो आर्थिक मन्दीको प्रभावले बैंकहरूको नाफामा गिरावटमा देखिएको छ ।
चालू आर्थिक वर्षको पुससम्म वाणिज्य बैंकहरूले कमाएको आम्दानी १० प्रतिशतले खुम्चिएको छ भने २० मध्ये ३ वटा बैंकले मात्र नाफाको दर बढाउन सफल भएका छन् ।
खराब कर्जा बढेको, बैंकमा थुप्रिएको तरलताका कारण ब्याज आम्दानी कम भएको र पुरानो ऋण असुली नभएकाले बैंकहरूको नाफा घट्नुको प्रमुख कारण मानिएको छ ।
००००
सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले सातवटै प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
गत माघ ५ गते केन्द्रका सचिव रामआधार साहको अध्यक्षतामा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल, ट्राफिक प्रहरी, प्रधानमन्त्री कार्यालयका उपसचिवदेखि केन्द्रका सहसचिवहरू समेतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको थियो ।
सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा परीक्षार्थीले आफ्नो सवारी साधन प्रयोग गरी परीक्षा दिनबाट वञ्चित गरिएको र प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गरी परीक्षा दिन बाध्य पार्ने गरिएको थियो ।
सवारी साधन भाडामा दिएबापत प्रशिक्षण केन्द्रहरूले मनोमानी रूपमा शुल्क असुल्ने गरेका थिए ।
उक्त विषयमा केन्द्रमा परेको उजुरी सन्दर्भमा छलफल भई सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आइतबार निर्देशन दिइएको हो ।
००००
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सुर्खेत जिल्ला अदालतकी स्रेस्तेदार निर्मलाकुमारी खड्काले सिंहसहितका केही व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको लोकान्तरलाई जानकारी दिइन् ।
हत्या मुद्दामा प्रहरीले जरुरी पक्राउ पुर्जीको समर्थनका लागि आएपछि अदालतले समर्थन दिएको उनले बताइन् ।
२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो । सुर्खेत वीरेन्द्रनगरस्थित जन माविमा राजबहादुरको हत्या भएको थियो ।
००००
यातायात व्यवस्था विभागले ‘डेटाबेस’मा रहेका अवैध २९ हजार १२७ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले उक्त संख्याका अवैध लाइसेन्सलाई सिस्टममा इनभ्यालिड गरिससकेको लोकान्तरसँग बताए ।
’विभागले आन्तरिक छानबिन गर्नका लागि गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा अनुसूची १, २ र ३ बमोजिम डेटाबेसमा रहेका तर जारी नभएका अवैध २९ हजार १२७ लाइसेन्सलाई हामीले सिस्टममा इनभ्यालिड गरेका छौं,’ रिजालले भने, ’सिस्टमभित्र बेवारिसे भएर बसेका र नाम–फोटो मेटेर बेच्नका लागि बनाइएका ती अवैध २९ हजार लाइसेन्सलाई सिस्टममा राखिरहनुको साटो इनभ्यालिड गरेका हौँ ।’
००००
माघ ३ गते काठमाडौँ महानगरपालिका–१५ शोभाभगवतीस्थित सरिता गिरिको घरमा सढेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी स्वयम्भूमा सडेको अवस्थामा फेला परेको शव तनहुँ भीमादकी ५१ वर्षीय सफिना मियाको भएको जानकारी दिएको हो ।
००००
अध्यागमन विभागका कर्मचारीहरू आन्दोलित हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई सास्ती भएको छ।
कर्मचारीको आन्दोलनका कारण कुल २२ काउन्टर मध्ये ४ मात्र संचालनमा भएको बताइएको छ । जसका कारण यात्रुहरुले सास्ती भोग्नु परेको विमानस्थलका एक अधिकारीले बताए ।
००००
विशेष अदालतले तत्कालीन संविधान सभाका सदस्य इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र सुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गरेको हो।
००००
डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा आन्दोलन शुरू गरेको छ ।
सप्तरीमा रहेको कृषि विश्वविद्यालय अगाडि आइतवार प्रदर्शन गर्दै जनमतले विश्वविद्यालयमा दलीयकरण बन्द गर्नुपर्ने, गैरवैधानिक काममा रोक लगाउनुपर्ने, डीपीआरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग अगाडि सारेको छ ।
००००
संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिसँग सो विषयमा संयुक्तरुपमा छलफल गरेका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘संसद्को आगामी अधिवेशनदेखि नै थप प्रभावकारी ढङ्गले बैठक सञ्चालन गर्न क्यालेन्डर निश्चित गर्ने र त्यसका लागि १५ दिनको, ३० दिनको र सिङ्गो सत्रका लागि अलगअलग क्यालेन्डर बनाउनेबारेमा छलफल भएको छ ।’
००००
दिनदहाडै गोली चलाएर मान्छे मारेको घटनामा आजीवन कैद सजाय माग गरिएका हत्या आरोपीलाई सफाइ दिने न्यायाधीश डा परशुराम भट्टराईले राजीनामा दिएका छन् । जिम्मेवारी खोसेर सर्वोच्च अदालतमा तानिएको २१ महिनापछि उनले शुक्रवार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् ।
००००
सहकारी ठगी प्रकरणमा ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राई लगायतविरुद्ध छानबिन र कारबाहीका लागि सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई लेखी पठाउने तयारी गरेको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम सहमतिका आधारमा पूरा हुने बताएका छन् ।
असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई निष्कर्षमा र्पुयाइने बताए ।