२४ जेठ २०८३, आइतबार

पोखरामा मह खाने प्रतियोगिता: को भए प्रथम, के पाए पुरस्कार ?

माघ ८, २०८०
काठमाडौं
पोखरामा मह खाने प्रतियोगिता: को भए प्रथम, के पाए पुरस्कार ?

दुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा तीन/तीन हजार रुपैयाँमा दुईटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले भने तीन सय ५० मौरीका घार पुगिसकेका छन् । 

आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्याण्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुभव छन् । अनुहार भरी मौरीलाई राखेको उनको तस्बिर भाइरल बनेको थियो । 
    
आफ्नो व्यावसायिकतामा उत्साह थप्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको बताउँदै लामिछानेले मौरीपालनको इच्छा र लगाव हुनसकेमा सामान्य रोजगारीका लागि विदेशिनु नपर्ने बताए । बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहेका लामिछानेले उद्योग स्थापनाको २०औँ वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाए ।
    
प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका–२३ का जीवनाथ लामिछाने प्रथम भएका छन् । त्यस्तै द्वितीय पोखरा–३० खुदीका वसन्त पौडेल  र तृतीय पोखरा–२७ का विक्रम अधिकारी बने । 

पोखरा–३१ की सृजना लामिछाने महिला प्रतिस्पर्धीका रूपमा पुरस्कृत बनिन् । कूल तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुई  मिनेट आठ सेकेन्ड र दुई मिनेट ११ सेकेन्डमा मह खाएर विजयी भएका थिए ।
    
विजयीलाई महानगरको वडा नं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र मौरीपालक कृषक सूर्यप्रसादले संयुक्तरूपमा मह प्रदान गरी पुरस्कृत गरेका थिए । प्रथम हुनेलाई एक किलोग्राम महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो ।
    
नेपालमा विभिन्न किसिमका प्रतियोगिता हुने गरेका सन्दर्भमा आफूले गण्डकीमा नै पहिलोपटक यस्तो प्रतियोगिता राखेको  जनाउँदै उनले यसलाई भाइबन्धु तथा साथीभाइलाई मह चखाउने अवसरका रूपमा समेत लिएको बताए । 

उद्योगमा महको माग अत्यधिक रहेको बताउँदै उनले प्रतिकिलोग्राम एक हजार पाँच सयको दरले बिक्री वितरण भइरहेको जानकारी दिए । वार्षिक करिब एक हजार पाँच सय किलोग्राम मह उद्योगबाट उत्पादन भई बिक्री भइरहेको बताउँदै उनले अन्य विभिन्न फार्मबाट समेत थप एक हजार पाँच सय किलोग्राम मह खरिद गरी बिक्री गर्ने गरिएको जानकारी दिए । 

महबाटै परिवारको पालनपोषण, पठनपाठनका साथै पाँच जनालाई प्रत्यक्ष रोजगारी दिन सकेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्