
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न सहकारी ठगी गरेर फरार रहेका जीबी राईलाई आफूले मलेसियामा नभेटेको स्पष्ट गरेका छन् । उनले सार्वजनिक भएर बचतकर्ताको रकम फिर्ता गर्न राईसँग आग्रह गरे ।
सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा सभापति लामिछानेले जीबीसँग नभेटेको बताएका हुन् । ‘त्यस्तो गलत कुराको पनि जवाफ दिनुपर्ला र ? जीबीलाई राज्यले समाउनु पर्यो भनिरहेको छु’, प्रश्नको जवाफमा लामिछानेले भने । उनी गत मंसिर १७ गते मलेसिया गएका थिए ।
सभापति लामिछानेले ग्यालेक्सी टीभी प्रकरणमा आफू किर्तेको सिकार भएको हुनसक्ने बताए । सहकारीको पैसाबाट टीभीमा शेयर लगानी गरेको र छाड्दा १ करोड ८० लाख रुपैयाँ लिएको भन्ने समाचार आएपछि रविले पत्रकार सम्मेलन गरेर खण्डन गरेका थिए ।
आफ्नो नाममा चेक जम्मा गरेको स्लिप बाहिर आए पनि बैंकमा रकम जम्मा नभएको उनले दाबी गरे । ‘ग्यालेक्सी टीभीमा किर्ते भएको हुनसक्छ । किर्तेको सिकार म पनि भएको हुनसक्छु । तर सहकारी ठगेको होस भनेर त भएन नि !’, लामिछानेले भने ।
विगतमा मिडियाप्रति आक्रामक ढंगले प्रस्तुत भएका लामिछाने आज विनम्र भएर प्रस्तुत भएका थिए ।