
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यपहाडमा संकलन गरिएका जनताका माग सरकारका नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलवार बिहान ज्ञापनपत्र बुझाउँदै एमालेले जनताका चासो सम्बोधन गर्न माग गरेको हो ।
मंसिर १४ देखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्याङ मध्यपहाडी यात्राका क्रममा समेटिएका माग सहितको ज्ञानपनपत्र एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई बुझाएका हुन् ।
‘मध्यपहाडी क्षेत्रमा रहेका जनताका कुरा सुन्न हामीले यात्रा गरेका थियौं । त्यहाँबाट आएका जनताका माग र सुझावलाई लिपिबद्ध गरेर ल्याएका छौं,’ ज्ञापनपत्र बुझाउँदै ओलीको कुरा उद्धृत गर्दै एमालेका एक नेताले भने, ‘जनताका माग शीघ्र कार्यान्वयन गरियोस, दराजमा थन्काएर राख्ने काम नहोस ।’
जवाफमा प्रधानमनत्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रम र बजेटको तयारी शुरू भएकोले एमालेका सुझाव समेटने प्रतिबद्धता जनाएको उनले बताए । ‘एमालेको मध्यपहाडी यात्रामा सरकारले पर्याप्त शान्ति सुरक्षाको व्यबस्था गरेको थियो, तपाईंहरुका सुझाव सरकारले कार्यान्वयन गछ,’ प्रचण्डले भने । ज्ञापनपत्र बुझाउन एमालेका सबै शीर्ष नेताहरू बालुवाटार पुगेका थिए ।
सुझाव कार्यान्वयन भए/नभएको अनुगमनको जिम्मा उपाध्यक्ष विष्णु पौडेललाई दिइएको ओलीले प्रचण्डलाई बताएका थिए । एमाले नेताहरूसँगको सामूहिक भेटपछि प्रचण्ड र ओलीले छुट्टै भेटवार्ता गरेका थिए ।