
मधेश प्रदेश सरकारबाट बाहिरिएको जनमत पार्टीले दमन र भ्रष्टाचारविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएको छ ।
पार्टीको संसदीय दलको मंगलवारको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिँदै पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारबाट बाहिरिएर भ्रष्टाचारविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।
‘जसपा नेतृत्वको मधेश सरकारले मधेशी जनतामाथि गरेको दमन र अत्याचार, सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार र मधेशमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा जनमत पार्टीद्वारा समर्थन फिर्ता, मन्त्रीको राजीनामा, दमन र भ्रष्टाचारकोविरुद्ध आन्दोलन थाल्ने छौं’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमका जसपाका उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएको थियो । यादव जानुअघिदेखि नै कार्यक्रम स्थगित गर्न जनमतले गृह मन्त्रालयसमक्ष माग गरेको थियो । तर यादवको कार्यक्रम रोकिएन ।
यादव कार्यक्रम स्थलमा पुगेपछि जनमत पार्टीले सांकेतिक विरोध गरेको थियो ।
यसपछि कार्यक्रमस्थलमा झडप भएको थियो । जसमा मधेशका शिक्षामन्त्रीसहितका नेता र सांसद घाइते भएका थिए ।
सोही विषयलाई लिएर जनमतले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
सत्तरी- २ मा जनमतका अध्यक्ष राउतले गत निर्वाचनमा उपेन्द्र यादवलाई पराजित गरेका थिए । यसपछि दुई पार्टीबीच सम्बन्ध झनै तिक्ततापूर्ण रहँदै आएको छ ।
