
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् ।
सशस्त्र प्रहरी दिवसको २३ औँ वार्षिकोत्सव समारोहलाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको सुरक्षा र स्वाभिमानका निम्ति सशस्त्रले पुर्याएको योगदानबारे आफू जानकार रहेको उल्लेख गरे । उनले संगठनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिने पनि आश्वासन दिए ।
‘सीमा सुरक्षा र व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बलले अगाडि बढाएका कार्यक्रमले विद्यमान समस्या र चुनौतीहरू सम्बोधन गर्दै देशको स्वाभिमान र सीमा सुरक्षामा गुणात्मक योगदान पुर्याउने विश्वास लिएको छु,’ उनले भने, ‘संगठनले प्रस्ताव गरेका सीमा विकास कार्यक्रमलाई प्रथमिकतामा राखी अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।’
हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता तथा सीमित पूर्वाधारका बाबजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित भएर सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूको योगदान महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीलाई स्रोत-साधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
देशको सुरक्षा र स्वाभिमानका निम्ति दिलोज्यानले क्रियाशील सशस्त्र प्रहरी बलका अधिकृतहरूको वृत्तिविकास एवं प्रोत्साहनमा देखिएका समस्याप्रति आफू जानकार रहेको उनले उल्लेख गरे ।
‘मैले सरकारको नेतृत्व बनेपश्चात् सकल दर्जाका करिब ६ हजार अधिकृत र जवानहरूको पदोन्नतिको प्रक्रिया सम्पन्न भएको छ,’ उनले भने, ‘साथै बललाई विगतमा प्राप्त गरेको जिम्मेवारीका अतिरिक्त केही नयाँ जिम्मेवारीसमेत प्रदान गरिएको छ ।’
आगामी दिनमा बाँकी समस्याका विषयमा छलफल गरी आवश्यक सहजीकरण गर्ने विश्वास उनले दिलाए ।