३१ असार २०८३, बुधबार
संगीतमा जमेका साधक

सुदीप सागर: सुपरहिट गीतका संगीत संयोजक

'सकम्बरी'लाई करिअरको 'टर्निङ पोइन्ट' मान्छु
माघ १३, २०८०
काठमाडौं
सुदीप सागर: सुपरहिट गीतका संगीत संयोजक

९ महिनाअघि सार्वजनिक प्रकाश सपूतको गीत ‘सकम्बरी’ निकै चल्यो । चर्चाकै खातिर यसले वर्ष २०२३ मा युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको ‘रेकर्ड’ बनायो । वर्षदिन नपुग्दै ५ करोड ६० लाख हेरिएको यो ‘ब्लकबस्टर’ गीतका संगीत संयोजक हुन् सुदीप सागर । मीठो, सुहाउँदो संगीत संयोजन गर्ने उनी ‘सकम्बरी’पछि प्रकाशका हरेक सिर्जनाका अभिन्न अंग बनिरहेका छन् । 

‘दमाई महाराज’, ‘जाले रुमाल फाट्यो’देखि ‘मुटु कटक्कै’सम्मका गीतमा सुदीपकै संगीत–संयोजन छ । यी सबै गीतले युटयुबमा लोभलाग्दो भ्युज पाएका छन् । सुदीपले सांगीतिक क्षेत्रमा करिअर सुरु गरेको डेढ दशक भइसकेको छ । उनले १२ सय हाराहारी गीतमा काम गरिसकेका छन् । यसअघि पनि उनी जोडिएका थुप्रै गीतहरू रुचाइएका छन् । यद्यपि, उनको काम सांगीतिक क्षेत्रमा नोटिस भएको भने धेरै भएको छैन । उनी पछिल्लो वर्ष आफ्नो करिअरका लागि एकदमै राम्रो भएको समीक्षा गर्छन् । 

उनले भने, ‘मेहनत त सधैं नै हुन्थ्यो । तर, मेहनतलाई धेरैमा चिनाउने काम ‘सकम्बरी’ले गर्‍यो । उक्त गीतलाई करिअरकै टर्निङ पोइन्ट भन्छु । त्यसपछिका प्रायः गीत राम्रो भए ।’ पछिल्लो वर्ष उनले प्रकाशसँग सहकार्य गरेका मात्र होइन, अन्य गीतले पनि मिलियन बढी भ्युज पाइरहेका छन् । ​​

यतिबेला सांगीतिक क्षेत्रमा धेरैको नजरमा परेका सुदीपले यहाँसम्म आउन भने निकै संघर्ष गरेका छन् । अर्घाखाँचीमा जन्मिएका र हुर्किएका उनमा सानैदेखि संगीतप्रति रुचि थियो । 

कला क्षेत्रमा धेरैको चाहना पर्दाअगाडि आउने हुन्छ । गायक, गायिका, मोडल हुनुपर्छ भन्ने सपना बोक्नेहरू बढी हुन्छन् । उनलाई भने सानैदेखि गीतको संगीतले तान्थ्यो । गीतमा विभिन्न संगीतहरू कसरी बज्छन् होला भन्ने जिज्ञासा लाग्थ्यो । आफूलाई संगीतमा लाग्न अंकल बसन्त श्रीसागरको प्रेरणा रहेको उनी बताउँछन् । 

‘अंकलले लखनउमा क्यासिकल म्युजिक सिक्नुभएको थियो । गीत पनि पहिल्यै रेकर्डिङ गरिसक्नुभएको थियो । लखनउबाटै हार्मोनियम, किबोर्ड, गीतार, तबला ल्याउनुहुन्थ्यो । मैले सानैबाट ती बाजाहरू बजाउन सिकिसकेको थिएँ’ सुदीप बाल्यकालमा फर्किन्छन् । 

सांगीतिक क्षेत्रमै होमिने सोँचले उनी एसएसली सकेपछि काठमाडौं आएका थिए, डेढ दशकअघि । त्यतिबेला संगीत संयोजन सिक्न अहिलेजस्तो सहज थिएन । उनी संगीतकार बि.बि. अनुरागीको प्रिज्म रेकर्डिङ स्टुडियो पुगेर सल्लाह–सुझाव लिए । संगीत सिक्नुपर्ने रहेछ भन्ने महसुस गरे । ‘गुरु कैलाश राई र गुरुदेव कामतकोमा पुगेर ‘संगीत’ सिकेँ । सुरुवाती दिनमा उनलाई काम पाउनै गाह्रो भयो । कसैले अवसर दिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । ‘सुरुमा विजय सुनामको गीत एरेन्ज गरेको थिए । त्यसपछि क्रमश केही गीतहरू एरेन्ज गरेँ । सुरुवाती चरणमा चलेको गीत चाहिँ कृष्ण रेउलेको ‘आज गाउँमा बिजुली’ भन्ने हो,’ उनले करिअरको सुरुवाती दिन सम्झिए । 

‘आज गाउँमा बिजुली’ गीत ७ वर्षअगाडि सार्वजनिक भएको थियो । त्यसयता उनले थुप्रै गीतको संगीत संयोजन गरेका छन् । पछिल्लो समय लोकदोहोरी गीतमा व्यस्त सुदीपले सुरुवाती दिनमा थुप्रै आधुनिक गीतमा काम गरेको बताउँछन् । उनले फिल्मी गीतमा समेत संगीत संयोजकको भूमिका निर्वाह गरिसकेका छन् । 

मेलिना राईको ‘ओए साइँली’ रामजी खाँण र विष्णु माझीको ‘पानको पत्ता’, राजु परियार र आयुष्मा गौतमलगायतको ‘फूली नाकैमा’, राजु परियार, अर्जुन सापकोटा र कमला घिमिरेलगायतको ‘फुल्यो गुराँस’ जस्ता गीतहरू सुदीपको संगीत संयोजन रहेका केही वर्ष अगाडिका हिट गीतहरू हुन् । 

पछिल्लो समय प्रकाशका सिर्जनाबाहेक बद्री पंगेनीको ‘दुई पाइला’, अर्जुन सापकोटाको ‘बैनैज्यु’ लगायतका गीतहरू पनि सुदीपको संगीत संयोजन रहेका चर्चित गीतमा पर्छन् । 

कुनै समय महिनामा २०/२५ वटा गीतको संगीत संयोजन गर्ने उनी पछिल्लो समय त्यो संख्या घटाएका छन् । हतार नगरी काम गर्ने र सबै गीतमा आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास रहने उनी सुनाउँछन् । 

उनी गीतको भाव बुझेर संगीत संयोजन गर्छन् । त्यसरी काम गर्दा यति उति समय लाग्छ भन्ने हुँदैन । ‘गीतको भाव बुझेर फिलमा काम गर्नुपर्ने हुँदा कति समय लाग्छ भन्ने कुरा मुडमा भर पर्छ । काम छिटो गरौं, सकिहालौं भन्ने हुँदैन,’ उनले भने, ‘बरु समय लागोस्, राम्रो काम आओस् भन्ने लाग्छ ।’ 

उनी आफूले संगीत संयोजन गरेका प्रायः गीतको रेकर्डिङमा समेत बस्ने गर्छन् । पछिल्लो समय आफूले गरेका कामबाट उनी एकदमै सन्तुष्ट छन् । आउँदा दिनमा पनि फरक खालका सिर्जनाहरूमा काम गर्ने चाहना उनमा छ । 

‘अहिले संगीत बजार सुस्ताएको छ । समग्रमा काम कम भएको छ । तर, मेरो सन्दर्भमा जति काम पाएको छु, एकदमै सन्तुष्ट छु,’ उनले भने । उनी अहिले पनि आफू संगीतको विद्यार्थी रहेको र आउँदा दिनमा अध्ययन गर्दै, सिक्दै अगाडि बढ्ने बताउँछन् ।

आफ्नो सानैदेखिको रहरको क्षेत्रमा आउँदै गर्दा उनलाई बुवाआमाले सधैँभरि साथ र हौसला दिए । अहिले आफ्नो कामबाट बुवाआमा खुशी रहेको सुदीप बताउँछन् । 

श्रीमती बिन्दु परियारको साथमा सुदीप ।

उनले एक दशकअघि गायिका बिन्दु परियारसँग विवाह गरे । बिन्दु नेपालकी चर्चित गायिका हुन्, जसका ‘पर्ख पर्ख मायालु’, ‘पहिलो नम्बरमा’, ‘घरबार’जस्ता गीतहरू निकै रुचाइएका छन् । सुदीप र बिन्दुको भेट एक रेकर्डिङ स्टुडियोमा भएको थियो । विस्तारै उनीहरू नजिक हुँदै गए । र, दुवैको पारिवारको सल्लाहमै विवाह गरे । अहिले यो जोडीको एक छोरा ५ वर्षका भइसकेका छन् । सुदीपले आफू यहाँसम्म आउनुमा श्रीमतीको पनि ठूलो साथ रहेको बताए । 

यी दुईले केही गीतमा सहकार्यसमेत गरेका छन् । अहिले पनि बिन्दुको रचना र स्वर, आफ्नो संगीत संयोजनमा एउटा गीतको काम भइरहेको सुदीपले बताए ।

salt training

कमेन्ट गर्नुहोस्