२९ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

माओवादी सुदूरपश्चिममा खटपट, एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर

माघ १३, २०८०
काठमाडौं
माओवादी सुदूरपश्चिममा खटपट, एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपअन्तर्गत शुक्रवार अफगानिस्तानलाई स्तब्ध बनाउँदै नेपालले सुपर सिक्समा स्थान बनाएको छ । इस्ट लन्डनमा भएको खेलमा अफगानिस्तानलाई स्तब्ध बनाउने क्रममा नेपालले १ विकेटको संघर्षपूर्ण रोमाञ्चक जीत निकालेको हो ।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो ।
००००
पूर्वी नेपालको उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर शुक्रवार सार्वजनिक गरिएको छ ।  

समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेलापरेको र यो अस्वाभाविक रहेको संरक्षण विज्ञहरूले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
००००
 गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रवार साँझ वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय समिति गठन गरिएको जनाएका छन् ।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य रहेका छन् ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालसहित २ जनामाथि शुक्रवार दिउँसो प्रहरीबाट हातपात भएको थियो ।
००००
 सुदूरपश्चिम प्रदेशसभा नेकपा माओवादी केन्द्रका प्रदेशसभाका बहुमत सदस्यले दलको नेता परिवर्तन गरेका छन् ।
माओवादी केन्द्र संसदीय दलका असन्तुष्ट बहुमत सदस्यको शुक्रवार बसेको बैठकको निर्णयबाट दलको नेता परिवर्तन गरिएको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।

 दलको नेतामा मानबहादुर धामीलाई चयन गरिएको छ । धामी दार्चुलाको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । सुदूरपश्चिम माओवादीमा पछिल्लो समय खटपट बढेको छ । 
००००
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले प्रदेश र जिल्ला नेताहरूलाई जिम्मेवारी तोकेको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोम पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको छ ।

गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सह(इन्चार्जको जिम्मेवारी तोकिएको छ भने गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष श्रीनाथ बरालाई अध्यक्षमा मनोनयन गर्ने निर्णय गरिएको एकीकृत समाजवादीले जनाएको छ ।
००००
विशेष अदालत काठमाडौंले मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा अधिकृत पनेरू महतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । घुस लिएको अभियोगमा उनलाई दोषी ठहर गर्दै अदालतले कैद र जरिवानाको सजायसमेत सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधिशद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलाशले पनेरूलाई शुक्रवार ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको हो ।
००००

​संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकांश कर्मचारीहरूले तोकिएको पोशाक नलगाइ कार्यालय जाने गरेको पाइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले यही माघ ११ गते गरेको छड्के अनुगमनमा संघीयका १८ जना कर्मचारी तोकिएको पोशाक नलगाइ कार्यालय पुगेका थिए । यसरी तोकिएको पोशाक नलगाइ कार्यालय पुग्नेमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म रहेका केन्द्रले जनाएको छ ।
००००
यातायात व्यवस्था विभागले अवैधरूपमा जारी भएका २९ हजारभन्दा बढी लाइसेन्स रद्द गरेको दाबी गरे पनि त्यसको वैधतामा प्रश्न उठेको छ ।

लाइसेन्स जारी वा रद्द गर्ने अधिकार भएका सम्बन्धित कार्यालयबाटै रद्द गराउनुपर्नेमा विभाग आफैंले गरेपछि प्रश्न उठेको हो ।

विभागको डेटाबेसमा प्रविष्ट भएका २९ हजार १२७ अवैध लाइसेन्सलाई केही दिनअघि मात्र रद्द गरिएको दाबी महानिर्देशक उद्धवप्रसाद रिजालले गरेका थिए ।
००००
काठमाडौंको नयाँबानेश्वरमा सडक भासिएपछि कोल्टे परेको बस निकालिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको सडक भासिपछि पछाडिको टायर फसेर कोल्टे परेको बस डोजर लगाएर निकालिएको हो । बस निकालेसँगै सडकमा परेको भ्वाङ पुरिएको छ ।
००००
लागुऔषधका थुनुवालाई भगाएर फरार रहेका तत्कालीन प्रहरी १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको पथरावुधराम–३ का ४१ वर्षीय विरवलराय यादव रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्