
बोगोटा–कोलम्बियाको जङ्गलमा लागेको डढेलोका कारण नोभेम्बरयता १७ हजार हेक्टरभन्दा बढी जमिन जलेर नष्ट भएको अधिकारीहरूले शुक्रवार बताएका छन् ।
लामो समयदेखिको खडेरी, उच्च गर्मी र एल निनो मौसमी घटनाका कारण यो बर्ष ३४० भन्दा बढी डढेलोका घटना रेकर्ड गरिएको वातावरणमन्त्री सुसाना मुहम्मदले जानकारी दिइन् ।
कोलम्बियाले सोमवारदेखि राजधानी नजिकै धेरै डढेलोको सामना गर्नुपरेको छ । राजधानी बोगोटाबाट देखिने पहाडहरूमा अधिकारीहरूले जलेको क्षेत्रनजिक बस्ने बासिन्दाहरूलाई खराब वायु गुणस्तरको कारण अतिआवश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन सल्लाह दिएका छन् ।
‘शनिवार बोगोटाबाट करिब २५० किलोमिटर उत्तरपूर्वमा हिउँले ढाकिएको चुचुरो भएको प्राकृतिक पार्क नेभाडा डेल कोकुईमा आगो लागेको छ,’ मुहम्मदले पत्रकार सम्मेलनमा भनिन् । उनले पार्कमा आगोको ज्वाला ‘निकै उच्च’ स्थानमा रहेकाले स्थितिको आँकलन गर्न हेलिकप्टर परिचालन गरिएको बताइन् ।