
चलचित्र ‘खजुरे ब्रो’मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको अभिनय गरेका छन् ।
शनिवार उनको भूमिकाको छायांकन गरिएको कार्यकारी निर्माता डायमण्ड उप्रेतीले जानकारी दिए । कथाले मागेअनुसार नै साम्पाङलाई लिइएको र उनलाई मेयरकै भूमिकामा चलचित्रमा देख्न सकिने उप्रेतीले बताए ।
छायांकन सेटमा मेयर साम्पाङ डेब्यु अभिनेत्री नीति शाहलगायतसँग देखिएका छन् ।
चलचित्रको टिमले साम्पाङसँगका केही तस्वीर सार्वजनिक गरेको छ ।
‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित चलचित्र हो । चलचित्रले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ । दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको चलचित्र ‘खजुरे ब्रो’को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् ।
चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल,बिनिता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ । ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो ।
चलचित्रमा दार्जिलिङका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेको छायाँकन रहेको चलचित्रमा अनमोल गुरुङको संगीत रहनेछ ।