
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोला निवासी सविना गुरुङलाई लालपूर्जा पाउँछु भन्ने कमै विश्वास थियो । यसअघि पनि विभिन्न सरकारको पालामा भूमि आयोग गठन भएर काम अगाडी बढेपनि त्यसले सार्थक रुप नपाउँदा उनलाई लालपूर्जा पाइन्छ होला र भन्ने लागेको थियो ।
तर आज हातमै लालपूर्जा पाएपछि उनमा खुसीको सीमा रहेन । “वर्षौदेखि भूमिहिन सुकुम्बासीको रुपमा रहनुपर्दा पीडा थियो, तर आज लालपूर्जा पाउँदा खुसी लागेको छ । यो खुसीलाई शब्दमा व्यक्त गर्न सक्दिन,” उनले भनिन्।
सोही ठाउँका पूर्णबहादुर आलेलाई पनि आफू वर्षौदेखि बस्दै आएको जग्गाको लालपूर्जा पाउँछु भन्ने कमै विश्वास थियो । “यसअघि पनि भूमि आयोगले पटक–पटक काम गरेको थियो तर कहिल्यै लालपूर्जा पाएनौ,” उनले खुसी हुँदै भने, “यसपटक भने लालपूर्जा पायौ बल्ल सरकार आएको अनुभूति भयो ।”
स्थानीय डम्बरबहादुर गुरुङलाई लालपूर्जा पाउने सूचीमा नाम देख्दा सपना जस्तै लागेको थियो । उनले भने, “लालपूर्जा पाउने निर्णय गरिएको सूचीमा नाम देख्दा हो की होइन होला भन्ने लागेको थियो, तर साँच्चिकै पाउँदा त झनै हर्षित छ ।” यसअगाडी कतिपयले पछि तिमीहरुलाई यहाँबाट उठाउँछ, किन बसेको भनेर भन्ने गरेको बताउँदै उनले अब त लालपूर्जा पाएपछि कसैले केही भन्न नसक्ने उल्लेख गरे ।
राष्ट्रिय भूमि आयोग तनहुँले यस ठाउँका १३ जना भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने निर्णय गरेबमोजिम आज एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई जग्गाको पूर्जा हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमानले १३ जना भूमिहिन सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गरे ।
सो अवसरमा चुमानले वर्तमान सरकार भूमिहिन सुकुम्बासीलाई जग्गाको मालिक बनाउने अभियानमा रहेको बताए ।
आयोगले स्थानीय कोपिला थापा आले मगर, आइतमाया गुरुङ, निर्मला गुरुङ, पूर्णबहादुर गुरुङ, डम्बरबहादुर गुरुङ, मसिनु गुरुङ, विष्णुमाया गुरुङ, सिरिमाया गुरुङ, बुद्धिमाया भुजेल, हरिमाया गुरुङ, भरिमाया गुरुङ, बिनु गुरुङ र सविना गुरुङलाई जग्गा वितरण गरेको छ ।
त्यसअघि माघ ९ गते नापी कार्यालय तनहुँमा भूमिहिन सुकुम्बासी उपस्थित भई जग्गा दर्ता गरिएको थियो । विसं २०७८ फागुन १६ गते गठन भएको आयोगले पहिलो पटक भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराएको आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।
जिल्लाका दश पालिकामा भूमिहिन दलित एक हजार एक सय आठ, भूमिहिन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२, देवघाट गाउँपालिका–५ देउपुर टोल र शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजार, बन्दीपुर गाउँपालिका–१ मा जग्गा नापजाँच भइरहेको छ ।