
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले लामो समयदेखि विचाराधीन रहेको ख्वप विश्वविद्यालय विधेयक चाँडै संसद्मा पेस गर्ने तयारी भइरहेको बताएका छन् ।
आज भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयका रुपमा सञ्चालन हुने गरी ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ संसद्बाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन माग गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्व टोलीले बुझाएको अनुरोधपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।
हिउँदे अधिवेशनको पहिलो प्राथमिकतामा ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारीमा मन्त्रालय अग्रसर रहेको भन्दै मन्त्री राईले विभिन्न विज्ञहरुसँग छलफल गरी मन्त्रालयले ख्वप विश्वविद्यालयको विधेयक पेस गर्ने तयारी गरिरहेको बताए ।
त्यस क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उच्च मावि, २०५८ सालमा ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इञ्जिनियरिङ र २०७९ सालमा ख्वप कलेज अफ लको स्थापना गरी ती कलेजमा देशभरका सात हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको मन्त्री राईलाई जानकारी गराउँदै ख्वप विश्वविद्यालय विधेयक स्वीकृत भएमा जनतालाई फाइदा हुने बताए ।