
सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल मेक्सिकोमा हुने भएको छ । फिफाले सार्वजनिक गरेको खेल तालिकाअनुसार ११ जुनमा मेक्सिकोमा उद्घाटन खेल हुने भएको हो ।
यस्तै फाइनल खेल अमेरिकामा हुने भएको छ । १९ जुलाइमा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमा हुने फिफाले जनाएको छ ।
अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकपको रूपमा २०२६ को विश्वकपमा पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । उत्तर अमेरिकाको अमेरिका, मेक्सिको र क्यानडामा ३९ दिन चल्ने विश्वकपमा कूल १०४ खेल हुनेछ ।
पहिलोपटक विश्वकपको आयोजक बनेको क्यानडाले आफ्नो पहिलो खेल १२ जुनमा टोरोन्टोमा खेल्नेछ । यस्तै अमेरिकाले पनि १२ जुनमै लस एन्जलसमा आफ्नो पहिलो खेल खेल्नेछ ।
२०२२ को कतार विश्वकप भन्दा १० दिन बढी चल्ने २०२६ को विश्वकपमा तीन देशका १६ शहरमा हुनेछ ।
विश्वकपको ड्र भने २०२५ को अन्तिममा सार्वजनिक गर्ने फिफाले जनाएको छ ।