
नेपाल समाजवादी पार्टी (नेसपा)ले जनआकांक्षा सम्बोधन गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न माग गरेको छ ।
केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकबाट समसामयिक प्रस्ताव पारित गर्दै नेसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गरेको हो ।
‘संविधानले संस्थागत गरेका राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउने प्रतिगामी हर्कतप्रति सचेत रहँदै राष्ट्रको समृद्धि, जनआकांक्षाहरूको परिपूर्ति र राजनीतिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य पुष्टि भएको हुँदा संविधान संशोधनका निम्ति यो बैठक माग गर्दछ’, नेसपाले भनेको छ, ‘साथै प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुनसक्ने स्थितिप्रति सजग रहँदै यो बैठक सम्पूर्ण प्रगतिशील लोकतान्त्रिक समाजवादी शक्तिलाई एकजुट हुन आह्वान गर्दछ।’
पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरूको वृहत् ध्रुवीकरणसहित नयाँ समाजवादी शक्ति निर्माण गर्न एकताबद्ध हुन पनि नेसपाले आग्रह गरेको छ ।
राज्यका सबै अङ्गमा भ्रष्टाचार र कमिसन तन्त्र मौलाएकोले उचित छानबिन गर्न, अर्थतन्त्र सुधारको दिशामा लान पनि नेसपाले माग गरेको छ ।