
आपत्कालीन सेवाका लागि एकीकृत प्रणाली विकास गरिने भएको छ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा आज गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले एक कार्यदल समेत गठन गरेको छ। उक्त कार्यदलले आपत्कालीन सहायता सेवा प्रवाहका सम्बन्धमा १५ दिन भित्र अवधारणा पत्र र कार्ययोजना पेश गर्ने छ ।
अप्ठ्यारोमा परेका व्यक्तिले मोबाइल वा टेलिफोनबाट सूचना पठाएपछि सो सूचना केन्द्रीय प्रणालीमा पुग्ने र आवश्यक आपत्कालीन सेवा लिन सक्ने गरी एकीकृत प्रणाली विकास गर्न लागिएको हो ।
सो प्रणाली अन्तर्गत एम्बुलेन्स, दमकल, प्रहरी सेवा, प्रारम्भिक स्वास्थ्य जस्ता सेवा एकीकृत रुपमा उपलब्ध गराइने छ। तर तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी सेवा समावेश गरिने छ।
विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा गठन गरिएको ११ सदस्ययीय कार्यदलमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरीका १/१ र नेपाल प्रहरीका दुई जना प्रतिनिधि रहेका छन् ।
सूचना तथा सञ्चार विज्ञ विजय गौतम समेत कार्यदल सदस्य छन् ।
अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बरहरू प्रयोगमा छन्।
तर नयाँ सेवा सुरु भएपछि सबै नागरिकले एउटै नम्बर प्रयोग गरेर आफूलाई परेको समस्या केन्द्रीय प्रणालीमा पठाउन सक्नेछन्।
केन्द्रीय सूचना प्रणालीले प्राप्त सूचनालाई तत्कालै सम्बन्धित निकायमा पठाउने छ। आपत्कालीन सेवा प्रवाहका लागि विभिन्न उपप्रणालीहरू समेत प्रयोगमा ल्याइने छ।