२७ असार २०८३, शनिबार
सरसर्ती २४ घण्टा

अरुण चौधरीबारे अदालतको आदेशदेखि रविविरुद्ध जाहेरीसम्म

माघ २३, २०८०
काठमाडौं
अरुण चौधरीबारे अदालतको आदेशदेखि रविविरुद्ध जाहेरीसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
काठमाडौं जिल्ला अदालतले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित तीनै जनाको अनुसन्धान मंगलवारसम्म सक्न आदेश दिएको छ ।

सोमवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलाशले बयान सम्पन्न भइसकेको तथा बुझ्नु पर्ने काम आजसम्म सक्न आदेश गरेको हो ।
प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्नका लागि सरकारी वकिलले विभिन्न ८ आधार पेश गरे पनि मंगलवारसम्म बुझ्नु पर्ने सबै काम सम्पन्न गरी तीनै जनलाई हाजिरी जमानीमा छाड्न आदेश भएको हो ।
००००
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडप्न खोलिएको च्याम्पियन फूटवेयर कम्पनीको शेयरमा भाइ अरुण चौधरीसरह नै हिस्सेदार रहेका विनोद चौधरी पक्राउ पर्ने डरले यतिबेला शक्ति केन्द्रमार्फत केन्द्रीय अनुसन्धान ब्यूरोलाई दबाब दिन व्यस्त छन् ।

तर, बहुचर्चित ललितानिवास जग्गा प्रकरणले स्थापित गरेको तथ्यअनुसार उनी उम्कने ठाउँ नरहेको धेरै तथ्यहरूले पुष्टि गर्छन् । १० रोपनी जग्गा हत्याउन खडा गरिएको कम्पनीमा विनोद चौधरी उनका भाइ अरुणसरहकै हिस्सेदार रहेको खुलासा लोकान्तरले गरिसकेको छ ।
००००
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । सोमबार प्रमुखको कार्यकक्षमा बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिहरुसहितको वैठक समिति गठन गरेको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि अभियान साकार पार्न आफ्नो पार्टीको बहुमतको सरकार आवश्यक भएको बताएका छन् । 

सोमबार महोत्तरीको जलेश्वरमा नेकपा एमालेको छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले देशको नेतृत्व गर्ने अवसरका लागि आफ्नो दलले अब २०८४ को चुनावको प्रतीक्षा गरिरहेको बताए ।
००००
लुम्बिनी प्रदेशसभाको हिउँदे अघिवेशन आगामी फागुन १८ गते शुक्रबार दिउँसो ३ बजे आह्वान गरिएको छ । 

नेपालको संविधानको धारा, १८३ को उपधारा (१) र धारा, १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जानकारी दिए ।
००००
जिल्ला प्रहरी कार्यालय कास्कीका रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध जाहेरी परेको छ ।
पोखराको सूर्यदर्शन सहकारी पीडितले लामिछानेविरुद्ध प्रहरीमा जाहेरी बुझाएका हुन् । जाहेरी बिहानै बुझाएको भएपनि साँझ बल्ल प्रहरीले दर्ता गरेको जाहेरी गर्नेमध्ये एकजनाले लोकान्तरलाई बताए ।

जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलालागायतलाई प्रतिवादी बनाइएको छ ।  
००००
नेपाल टेलिकमले २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरेको छ । स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको हो ।
००००
कोशी प्रदेश सरकारले मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गरेको विरुद्ध परेको रिट निवेदनमाथि बुधवार संवैधानिक इजलासमा पेशी तोकिएको छ । 
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद अधिकारीले  सो रिट दर्तापछि बुधवार संवैधानिक इजलासमा पेशी तोकिएको जानकारी दिए ।
००००
महानगरपालिकाका मेयरलगायत विभिन्न पदको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक प्रतिनिधि सभामा पुगेको छ । राष्ट्रिय सभाबाट पारित विधेयक सोमबार बसेको प्रतिनिधि सभा बैठकमा टेबल गरिएको हो । 

संघीय संसद्का कार्यबाहक महासचिव पद्मप्रसाद पाण्डेले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विधेयक प्रतिनिधि सभामा पेस गरेका हुन् ।
००००
प्रतिनिधि सभाले माघ र फागुन महिनाको कार्यतालिका पारित गरेको छ ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दुई महिनाको कार्यतालिका पारित गरेको हो । प्रस्तावित कार्यतालिकामा माघ महिनामा २ दिन र फागुन महिनामा ५ दिन सभाको बैठक राख्ने उल्लेख छ ।
००००
निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको छ । आयोजले सूचना जारी गर्दै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका २३ पदमा हुने उप निर्वाचनका लागि घोषणापूर्व नै मतदाता नामावली दर्ता गर्न आग्रह गरेको हो ।
००००
नेपाल समाजवादी पार्टी (नेसपा)ले जनआकांक्षा सम्बोधन गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान शंसोधन गर्न माग गरेको छ । 

केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकबाट समसामयिक प्रस्ताव पारित गर्दै नेसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान शंसोधन गर्नुपर्ने प्रस्ताव गरेको हो ।
००००
आईसीसी यू–१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सबाट बाहिरिएको नेपाली क्रिकेट टोली सोमवार स्वदेश फर्किएको हो। नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्