काठमाडौं, २४ मंसिर –आगामी ३ वर्षभित्र नेपालका प्रत्येक वडा तहसम्म ब्रोडव्याण्ड सेवा विस्तार गरिने भएको छ । नेपाल दुरसंचार प्राधिकरणले सोको तयारी अघि बढाएको छ ।
‘हामीले ब्रोडव्याण्ड सेवा विस्तारलाई तिव्रताका साथ अघि बढाएका छौं,’ नेपाल नेटवर्क अपरेटर्स गु्रुप (एनपीएनओजी)को आधिकारीक उद्घाटन कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष झाले भने ।
प्राधिकरणका अनुसार हालसम्म मुलुकको १५ प्रतिशत भूभागमा मात्र ब्रोडव्याण्ड सेवा विस्तार भएको छ । आगामी २०१८ सम्म वडा तहसम्मै ब्रोडव्याण्ड सेवा विस्तार गरिने अध्यक्ष झाले बताए ।
हाल पाँचथरको चिया भञ्ज्याङदेखि धादिङको आरुघाट, गोरखा देखि रुकुम तथा रुकुमदेखि दार्चुलासम्म अप्टिकल फाइबर बिच्छ्याउने काम अघि बढेको उनले बताए । पूर्वपश्चिम राजमार्ग र उत्तरदक्षिण राजमार्गमा पनि अप्टिकल फाइबर विस्तार गर्ने काम अघि बढेको उनले जानकारी दिए ।
साईबर सुरक्षाका लागि प्राधिकरणले इन्टरनेसनल टेलिकम युनियनसँगको सहकार्यमा साईबर ऐन ल्याउने तयारी भइरहेको उनले बताए ।
कार्यक्रममा बोल्दै आनन्दराज खनालले सरकार साईबर सुरक्षामा संवेदनशिल नभएको गुनासो गरे । साइबर सुरक्षाका लागि सरकारी निकायबीच नै मतभेद रहेको भन्दै सोको अन्त्य हुनुपर्ने उनले बताए ।