
सत्ता गठबन्धनका शीर्ष नेताहरूले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् ।
मुख्यमन्त्रीहरूसँग मुख्यगरी संघीयता कार्यान्वयनको विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश जानकारी मल्लले दिए ।
संघीयता कार्यान्वयनका लागि बन्नुपर्ने कानुनमा ढिलाइ हुँदा प्रभावकारी काम नभएको भन्दै मुख्यमन्त्रीहरूले निरन्तर सरकारलाई दबाब बढाइरहेका छन् । यसैले प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् ।
मुख्यमन्त्रीसँगको छलफलमा गठबन्धन दलबाट पनि नेताहरू सहभागी भएका छन् । प्रदेशमा देखिएका समस्याबारे सत्ता गठबन्धन दलले समान धारणा बनाउँदा अघि बढाउनुपर्ने विधेयकसहित तयारीका विषयमा एकरूपता हुने भएपछि बैठक बोलाइएको जानकारी मल्लले दिए ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गगन थापा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीबाट वर्षमान पुन, लोसपाबाट महन्थ ठाकुरसहितका नेता सहभागी छन् ।
यसअघि बुधबार राष्ट्रिय समन्वय परिषद्को बैठक बसेको थियो ।