
सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई सुनसम्बन्धी बयानका लागि बोलाएको छ । आयोगले बयानका लागि पूर्वसभामुखसमेत रहेका महरालाई बिहीवार सिंहदरबारमा बोलाएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानमा पसेर छानबिन गर्न पाउने अधिकार पाएको आयोगले सुनसँग जोडिएर आएका व्यक्तिहरूसँग पनि बयान लिइरहेको छ । यो बीचमा महरालाई बोलाएको हो । बिहीवार दिउँसो महराको बयान जारी छ ।
पछिल्लो समय विद्युतीय चुरोट (भेप) तथा स्कूटर र मोटरसाइकलको ’ब्रेक शू’भित्र लुकाएर ल्याएको सुनका ३२ जना प्रतिवादीहरूसँग बयान लिइएको छ ।
त्यसबाहेक प्रहरीले अनुसन्धानको क्रममा बुझेका तर अभियोजन नगरेका १३ जना व्यक्तिको समेत बयान गरेर कागज गराएको अध्यक्ष डिल्लीराज आचार्यले लोकान्तरलाई बताए ।
सुन तस्करीमा संलग्न एक चिनियाँ व्यापारीसँग महराले पटक–पटक टेलिफोन गरेको तथ्य फेला परेको थियो । विमानस्थल भन्सारमा रहेको सुन छुटाउन महराले ती कर्मचारीलाई पटक–पटक दबाब दिएका थिए ।
सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई पनि सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।