
एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत नेपाल भ्रमणमा रहेको क्यानडाले दोस्रो खेलमा नेपाललाई २८६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित मैदानमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले ९ विकेट गुमाउँदै २८५ रन जोडेसँग नेपालले २८६ रनको लक्ष्य पाएको हो ।
नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा क्यानडाका लागि आरोन जोन्सनले ६२ बलमा ६५ रनको अर्धशतकीय पारी खेले । नवनति थलिवालले ६० बलमा ४६ रन बनाए । पर्गत सिंहले ३८ बलमा ३८, निकोलास किर्तोनले २० रनको योगदान दिए ।
९४ रन जोड्दा पहिलो विकेट गुमाएको क्यानडाले १९३ रन पुग्दा ५ विकेट गुमाएको थियो ।
नेपालका लागि कुशल मल्ल र रोहित पौडेलले दुई दुई विकेट लिए ।
लगातार जस्तो विकेट गुमाएर दबाब आए पनि श्रेयश मोभ्भा र उदय भगवानले अन्तिम आक्रामक रन बटुल्दा नेपालले २८६ रनको लक्ष्य पाएको हो ।
नेपालले पहिलो खेलमा रोमाञ्चक ७ रनको जीत हात पारेको थियो ।