०८ असार २०८३, सोमबार

लोकान्तरकर्मी अजय अनुरागीसहित ३ पत्रकारलाई अख्तियारको सम्मान

माघ २८, २०८०
काठमाडौं
लोकान्तरकर्मी अजय अनुरागीसहित ३ पत्रकारलाई अख्तियारको सम्मान

समाचारमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धनमा योगदान गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोकान्तर डट्कमका विशेष संवाददाता अजय अनुरागीसहित ३ पत्रकारलाई पुरस्कृत गरेको छ । 

३३ औं स्थापना दिवसको अवसरमा आइतबार आयोगको कार्यकक्षमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार हस्तान्तरण गरेका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको समारोहमा प्रधानमन्त्री प्रचण्डले पुरस्कृत पत्रकारहरूलाई कदरपत्र प्रदान गरेका थिए । 

अख्तियारका प्रमुख प्रेमकुमार राईले पुरस्कृतहरूलाई बधाई दिए ।

‘पुरस्कृत हुने कर्मचारी र सञ्चारकर्मीहरूलाई बधाई ज्ञापन गर्दछु । आगामी दिनमा यहाँहरूबाट भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा राखेको छु,’ प्रमुख आयुक्त राईले भने ।

२०६३ सालमा जनकपुरबाट पत्रकारिता शुरू गरेका अनुरागीले विशेषगरी खोजमूलक समाचार लेख्दै आएका छन् । पछिल्लोपटक कर्मचारीको मिलेमोतोमा झण्डै एक लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणबारेको खोज समाचार प्रकाशित भएपछि अख्तियारले छानबिन शुरू गरेको छ । 

यसअघि उनले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका नाममा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयले खरिद गरेको साइकलमा घोटालाको समाचार  पहिलोपटक लोकान्तरमा प्रकाशित गरेका थिए । 

हत्या आरोपितलाई छुटाउन जिल्ला न्यायाधीशले गरेको आदेश सम्बन्धमा गरिएका खोजी स्टोरीले दुईजना न्यायाधीशको जागिर गएको थियो ।

यस्तै, रामस्वरूप रामसागर क्याम्पसमा परीक्षामा हुने गरेको अनियमितताबारे समेत उनले लामो खोज गरेका थिए । 

अनुरागीसहित कान्तिपुरका संवाददाता मात्रिका दाहाल र रातोपाटी डटकममा संवाददाता सुवास गोतामे पुरस्कृत भएका छन् । आलेखतर्फ सुदर्शन आचार्य पुरस्कृत भए ।

पुरस्कारको राशि २० हजार रुपैयाँ नगद र कदरपत्र रहेको छ ।

पत्रकार अनुरागीको बाइलाइनमा प्रकाशित समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्