२५ जेठ २०८३, सोमबार

सीएनएनको दाबी: १५ हजार नेपाली रुसी सेनामा भर्ना

माघ २९, २०८०
काठमाडौं
सीएनएनको दाबी: १५ हजार नेपाली रुसी सेनामा भर्ना
नेपालीलाई रूसी सेनामा भर्ती हुन र युद्धमा जान रोक्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गर्दै मानव अधिकार तथा शान्ति सेवा समाजका प्रतिनिधि ।

अमेरिकी सञ्चारमाध्यम 'सीएनएन' ले नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरेको छ । रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएका सीएनएन जनाएको छ । 

प्याकेजमा मासिक कम्तीमा दुई हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी (पासपोर्ट) प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको समाचारमा उल्लेख छ ।

रुसी सेनामा कति नेपाली भर्ना भएका छन् र अहिलेसम्म कति जनाको ज्यान गएको भन्नेमा रुसी विदेश मन्त्रालयले कुनै जवाफ नदिएको सीएनएनले जनाएको छ ।

रुसी सेनामा भर्ना हुन चाहने नेपाली पहिले पर्यटक भिसामा रुस जाने गरेको खबरमा उल्लेख छ । धेरैजसो व्यक्तिहरूले आफूहरू यूएई वा भारत हुँदै गएको सीएनएनलाई बताएका छन् । 

मस्को पुगेपछि एक वर्षको सम्झौतामा हस्ताक्षर हुने र भर्ना हुनेहरूको रुसी बैंक खातामा कम्तीमा दुई हजार डलर जम्मा गरिने र कतिपयले त महिनामा चार हजार डलरसम्म कमाएको समाचारमा उल्लेख छ ।

रुसी सेनामा भर्ना भएका कतिपय नेपालीले लडाइँमा पठाइनुअघि सामान्य तालिम मात्र लिएको बताएका छन् । 

रसियामा रहेका एक नेपालीले एभानगार्डमा बसेर रकेट लन्चर, बम, मेसिन गन, ड्रोन र ट्याङ्कको तालिम लिएको बताएका छन् । 

रुसी सेनामा भर्ना भएका धेरै नेपालीहरूलाई रुसी भाषा बोल्न समेत नआउने गरेको सीएनएनले जनाएको छ ।  

नेपाल सरकारले भने झन्डै दुई सय नागरिक रुसी सेनामा भर्ना भएको र युद्ध क्षेत्रमा कम्तीमा १३ जनाको ज्यान गएको बताएको छ । तर, रुसी सेनामा कति नेपाली छन् र उनीहरूको यथार्थ अवस्थाबारे सरकारसँग यकिन विवरण छैन । 


 

salt training

कमेन्ट गर्नुहोस्