
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादन क्षेत्रमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान गरेका छन् । दुबईमा आयोजित वर्ल्ड गभर्मेन्टस् समिटमा नेपालबाट निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका अध्यक्ष ढकालले जलविद्युत, पर्यटन पूर्वाधार, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् ।
नेपाल सरकारले लगानी प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गरेर व्यावसायिक वातावरण पहल गरिरहेको उनले बताए । 'नेपाल सरकारले यही अप्रिल २८/२९ मा आयोजना गर्न लागेको नेपाल लगानी शिखर सम्मेलन २०२४ लाई मध्यनजर गर्दै नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन–नियममा संशोधनको प्रक्रिया अगाडि बढाएको छ,' उनले भने, 'साथै, विभिन्न सम्भावित साझेदार मुलुकहरूसँग द्विपक्षीय लगानी सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति गर्न गइरहेको छ । यसले दुई देशबीच व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ ।'
उनले यसको सदुपयोग गर्न लगानी सम्मेलन २०२४ मा सहभागी हुन र यसको फाइदा लिनसमेत आग्रह गरे । शेपिङ फ्युचर गभर्मेन्ट भन्ने नाराका साथ आयोजना भइरहेको सम्मेलनमा विश्वभरका सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, राजनीतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरेका थिए ।