काठमाडौंका नाम चलेका तारे होटलले म्याद गुज्रेका समान बेच्ने गरेको पाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा काठमाडौंका द्वारिकाज, बसेरा र हिमालयन होटल (लाजिम्पाट)मा म्याद गुज्रेका सामान फेला परेको हो ।
किचन र स्टोरमा म्याद गुज्रिएका सामान फेला परेको विभागका सूचना अधिकारी आनन्द पोखरेलले लोकान्तरलाई जानकारी दिए ।
बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बुधबार अनुगमन गरिएको थियो । त्यहाँ पीठो, कोकोनट क्रिमलगायतका सामान म्याद गुज्रिएको पाइएको थियो ।
लाजिम्पाटको हिमालय होटलमा दूध, दही, पाउरोटी, पीठो लगायत बासी थिए ।
सिंहदरबारको गेटैमा रहेको बसेरा होटलमा जुस र पाउरोटीसहितका सामान म्याद गुज्रेको भेटिएको छ ।
सूचना अधिकारी पोखरेलका अनुसार तीनै होटललाई ३/३ लाख जरिवाना गरिएको छ । बत्तिसपुतलीको द्वारिकाज होटलमा विदेशी भीआईपी बस्ने गरेका थिए ।
सिंहदरबारको दक्षिण ढोकामा रहेको बसेरा होटलबाट सिंहदरबारभित्रका मन्त्रालयमा खाजा जाने गरेको छ ।