सनातन हिन्दू राष्ट्रको अभियानमा रहेका कांग्रेस नेताहरूले महासमिति बैठकअघि नेताहरूसँग भेटघाट गरिरहेका छन् ।
शंकर भण्डारीको संयोजकत्वका सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियान नै चलाएर नेताहरूले महासमितिमा हिन्दू राष्ट्रको अभियानलाई अगाडि बढाउने तयारी गरेका हुन् । यसै क्रममा अभियानका सह–संयोजक लोकेश ढकाल र लक्ष्मण घिमिरेले कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग भेट गरेका हुन् ।
‘आज बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, हामीले कांग्रेसभित्र प्रारम्भ गरेको सनातन हिन्दूराष्ट्र अभियान र समसामयिक वर्तमान राजनीतिका विविध विषयमा केसी निवासमा रोचक कुराकानी भयो’ केसीसँग भेट भएपछि ढकालले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
नेता ढकालले महासमिति बैठकअघि हिन्दू राष्ट्र अभियानका लागि घोषणापत्र जारी गर्ने तयारी गरेकाले नेताहरूसँग छलफल गरेको जानकारी दिए ।
‘महासमितिमा हामीले सनातन हिन्दू राष्ट्रको विषयलाई अगाडि बढाउँदै छौं । यसका लागि ५ फागुनमा घोषणापत्रको तयारीमा जुटेका छौं,’ ढकालले भने, ‘यसैले नेताहरूका पनि धारणा बुझौं भनेर भेटघाटमा हिँडेका हौं ।’
धेरै केन्द्रीय सदस्यहरू हिन्दू राष्ट्रको पक्षमा भएकाले आफूहरूको मुद्दालाई ७ फागुनदेखि शुरू हुने महासमितिले सम्बोधन गर्ने विश्वास उनीहरूको छ ।
सभापति शेरबहादुर देउवाले पनि धर्मनिरपेक्षताबारे पार्टीमा छलफल हुन सक्ने बताएपछि कांग्रेसका हिन्दूवादीहरू उत्साही भएका छन् ।
यो अभियानको संयोजकमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी छन् ।