
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रकरणपछि गठबन्धनमा असमझदारी बढेको बताएका छन् । महासमिति बैठकअघि कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सुझावको लागि प्रस्तुत समसामयिक प्रस्तावमा उनले राष्ट्रिय सभाको परिणामपछि कांग्रेसभित्रै द्वन्द्व र माओवादीसँग असमझदारी बढेको उल्लेख गरेका छन् ।
गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका १९ उम्मेदवारमध्ये कोशीमा एकबाहेक १८ जना विजयी भएका थिए । कोशीमा सत्ता गठबन्धनबाट दुईजना साझा उम्मेदवार थिए । कांग्रेस सांसदले फ्लोर क्रस गर्दा कृष्ण कृष्णप्रसाद सिटौला निर्वाचित भएका थिए भने माओवादी उम्मेदवार पराजित भएका थिए ।
समस्या ढाकछोप गरेर होइन खुला छलफल र आपसी विश्वासले मात्र गठबन्धन दिगो हुने उनको भनाइ छ । ‘संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि आह्वान भएपछि कोशीमा जेजस्तो घटनाक्रम विकसित भयो त्यसले कांग्रेसभित्रनै द्वन्द्व सृजना भएको थियो । माओवादी पार्टीसँग त्यसबेला कायम रहन नसकेको समझदारी राष्ट्रिय सभा निर्वाचन परिणामपछि झनै समस्याको चपेटामा परेको छ,’ शर्माले भनेका छन्, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन खुला छलफल र आपसी विश्वासले मात्र त्यो संभव हुने तथ्य भुल्न मिल्दैन ।’
केन्द्र र प्रदेश दुवैतिर विश्वास कायम गर्न नसके गठबन्धनको भविष्य नै संकटमा पर्ने चेतावनी उनले दिएका छन् । ‘कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले हामीप्रति असन्तोष प्रकट गरेको स्थिति छ । यो घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी छ,’ प्रस्तावमा उनले भनेका छन्, 'हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी स्वतन्त्र छौं, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौं । केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्नेछ ।’
गठबन्धनको विषयमा व्यक्तिगत भड्काउमा लाग्ने नभई संस्थागत ढंगले चल्न उनले सुझाव दिएका छन् । ‘अन्य दलसँगको चुनावी या सत्ता गठबन्धन दल र दलबीच संस्थागत निर्णयको आधारमा हुने हो । गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठवन्धनलाई निरन्तरता दिने या छोड्नेजस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुनुहुन्न,’ शर्माले भनेका छन्, ‘पार्टीले गहन छलफलबाट परिपक्व निर्णय लिनुपर्ने हुन्छ ।'
अहिले सत्ता गठबन्धन आवश्यकताले बनेको भन्दै शर्माले स्पष्ट र प्रतिवद्ध भएर अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन् ।