
महासमिति बैठकमा पेश गर्न महामन्त्री गगन थापाले पार्टीमा पेश गरेको सांगठनिक प्रतिवेदनप्रति कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले आपत्ति जनाएका छन् ।
शुक्रवार बसेको केन्द्रीय समिति बैठकमा सदस्य बस्नेतले महामन्त्रीको प्रस्तावले कांग्रेसलाई अर्को कुनै पार्टीमा रुपान्तरण गर्न लागेको भान भएको टिप्पणी गरेका हुन् ।
२०८१ सालमा गर्न प्रस्ताव गरिएको विधान अधिवेशन एमालेको नक्कल भएको बस्नेतले आरोप लगाएका छन् । ‘१५ औं महाधिवेशनको कार्यतालिकामा विधान महाधिवेशन २०८१ असोजमा गर्ने भन्नुभएको छ । परिकल्पना नै नगरेको विधान अधिवेशन भनेको के हो ? केही समय पछाडि हाम्रो महासमिति बैठक जहाँ हुँदैछ, त्यहाँ नै एमाले जे गर्यो, त्यही कांग्रेसले अपनाउन जरुरी छ र ?’, बस्नेतले प्रश्न गरेका छन् ।
भर्खरै मात्र राष्ट्रिय सभा सदस्यमा निर्वाचित बस्नेतले प्राइमरी इलेक्सनबारे गगनले गरेको प्रस्तावमा पनि विमति जनाएका छन् ।
‘प्रतिवेदनको पाना नम्बर ३७ मा प्राइमरी इलेक्सन को प्रस्ताव गर्नुभएको छ । प्राइमरी इलेक्सनको नेपालीकरण के हो ? नेपालको लोकतन्त्रको आफ्नै मौलिकता छ । हामीले अमेरिकी व्यवस्थालाई साभार गर्न लागेका हौं र?’ बस्नेतले प्रश्न गरेका छन् ।
पार्टीमा गोप्य भन्दै बाँडिएको डकुमेन्ट मिडियामा पुर्याएको भन्दै उनले आपत्ति जनाएका छन् । आगामी सोमवारबाट शुरू हुने महासमिति बैठकमा पेश गर्न गगनले बिहीवार केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गरेका थिए ।