
जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुई महिनाका लागि शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले फागुन ५ देखि बढीमा २ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका हुन् ।
जसअनुसार शीतल निवास (राष्ट्रपति कार्यालय)को निषेधित क्षेत्रका रूपमा पूर्व पुरानो पवित्र वर्कशप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट, दक्षिण प्रहरी अस्पताल जाने मोडसम्मलाई तोकिएको छ ।
यसैगरी प्रधानमन्त्री निवास वालुवाटारको निषेधित क्षेत्रका रूपमा पुरानो पवित्र वर्कशप चोकबाट रसियन राजदूतावास हुँदै ईटालीया चोक, सभामुख निवासदेखि गैहीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधान न्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम, राष्ट्र बैङ्क चोकबाट पूर्वतर्फ १०० मिटर, इटालीया चोकबाट ५० मिटर दक्षिणसम्मलाई तोकिएको छ ।
यी ठाउँमा धर्ना तथा जुलुस गर्दा राजमार्ग र सार्वजनिक यातायात अवरुद्ध हुने अवस्था समेतलाई मध्यनजर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम आदेश जारी भएको बस्नेतले जानकारी दिए ।